RayNewsDaily
डेढ महिनादेखि बेपत्ता वृद्धको शव फेला        

बागमती । करिब डेढ महिनादेखि बेपत्ता एक वृद्धको शव मकवानपुरको भीमफेदी गाउँपालिका-२ रिठ्ठेडाँडामा फेला परेको छ । भीमफेदी गाउँपालिका-९ स्थित भान्जीको घरबाट फर्किने क्रममा गत कात्तिक १४ गते बेपत्ता भएका मकवानपुरको कैलाश गाउँपालिका-७ भार्ता निवासी ७० वर्षीय टिकाराम प्रजाको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।     
     
प्रजाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको उहाँले बताउनुभयो । मामाको खोजी गर्न प्रजाका भान्जा रामहरि प्रजाले गत मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिनुभएको थियो । मृतकले लगाएको कपडा र साथमा रहेको झोलाका आधारमा मृतक प्रजाको सनाखत भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । रासस

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update