बनियानी (झापा) । यहाँको मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट गए राति दुई सय सात ग्राम ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाका प्रहरीले एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
बुधबार राति ११ः२० बजेको समयमा मेचीनगर-६ स्थित मेचीपुलबाट भारतको पश्चिम बङ्गाल दार्जिलिङ प्रान्त थाना दुलालज्वतका ३० वर्षीय मोहम्मद अनवर हुसेन, भद्रपुर नगरपालिका-३ नयाँ बस्तीकी ४५ वर्षीया सविता भन्ने दोमासी राजवंशी र अर्जुनधारा नगरपालिका-८ का ३४ वर्षीय अर्जुन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतीय नागरिक हुसेन यसअघि पनि विभिन्न लागुऔषध कारोबारसम्बन्धी मुद्दामा संलग्न रहेको पाइएको प्रवक्ता चन्दले बताउनुभयो । प्रहरीले उनीहरुको साथबाट ब्राउनसुगरसहित नगद रू २० हजारसमेत बरामद गरेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।
बुधबार साँझ मात्रै बिर्तामोडबाट प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको थियो । बिर्तामोड नगरपालिका-५ का प्रकाश राजवंशीको घरमा प्रतिबन्धित लागुऔषध बेचबिखन भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बिर्तामोड-५ का २५ वर्षीय प्रकाश राजवंशी, ३२ वर्षीय रतन राजवंशी, बिर्तामोड-१ का २१ वर्षीय करण धिमाल र इलाम एकतप्पा गाउँपालिका-७ घर भई हाल बिर्तामोड-५ मा बस्दै आएका २१ वर्षीय आषिश लिम्बूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट पनि ब्राउन सुगर प्लास्टिकसहित तीन ग्राम नौ सय ८० मिलिग्राम र प्लास्टिक बाहेक चार सय २० मिलिग्राम फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।
त्यसैगरी दमकबाट प्रहरीले बुधबार नै प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ । दमक नगरपालिका–६ स्थित सडकमा दमक-२ का २३ वर्षीय सुसन बञ्जरालाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शङ्का लागी जाँच गर्दा उनको साथबाट ट्रामोल-५० लेखिएको दुई सय क्याप्सुल र स्पास्पान लेखिएको दुई सय थान ट्याब्लेट फेला परेकाले प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस