रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा सामान्य गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ७.३३ अंकले घटेर २५८८.६२ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने वृद्धि भएको छ ।
हिजो ५ अर्ब ८२ करोडको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ९३ कराड ३७ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बोटलर्स नेपाल (बालाजु) विन नेपाल लघुवित्त वित्तीय संस्था, मन्दाकिनी हाइड्रोपावर र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, जानकी फाइनान्स र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज सिन्धु विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २८ करोड ५७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सानिमा मिडल तमोर हाइड्रोपावरको करिब १४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक आज सर्वाधिक २.०३ प्रतिशतले वृद्धि भएको छ ।