RayNewsDaily
फ्रान्सेली राष्ट्रपति लेबनानमा, नयाँ नेतृत्वसँग भेटवार्ता गर्दै

बेरूत, लेबनान ।  फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार बेरुतमा आफ्ना समकक्षीलाई भेटेर सहयोगको प्रस्ताव गर्नुभएको छ । दुई वर्षभन्दा लामो राजनीतिक शून्यतापछि जोसेफ औन यही जनवरी ९ मा राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ र नवाफ सलामलाई प्रधानमन्त्रीका रूपमा चयन गर्नुभएको छ ।

इजरायल–हिजबुल्लाह युद्ध र वर्षौंको आर्थिक सङ्कटपछि लेबनानको नेतृत्व गर्ने राष्ट्रपतिले चुनौतीपूर्ण जिम्मेवारीको सामना गर्नुपरिरहेको छ ।

निवर्तमान प्रधानमन्त्री नजिब मिकातीको कार्यालयले म्याक्रोँलाई शुक्रबार बिहान बेरुत विमानस्थलमा स्वागत गर्ने जनाएको छ ।

इजरायल र हिजबुल्लाहबीच भएको युद्धविराम सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न जनवरी २६ को समयसीमामा म्याक्रोँले लेबनानको राजधानीमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।

म्याक्रोँको भ्रमणको उद्देश्य लेबनानको सार्वभौमिकतालाई सुदृढ पार्न, यसको समृद्धि सुनिश्चित गर्न र यसको एकता कायम राख्न औन र सलामलाई ‘मद्दत’ गर्नु हो। एएफपी

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update