म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्याफ्टिङ सञ्चालन गरिएको छ ।
जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले बेनी नगरपालिका-८ जलेश्वर र बगरफाँटबाट कालीपुल हुदै म्याग्दी र कालीगण्डकीको दोभानसम्म पुग्न सकिने गरि र्याफ्टिङ सञ्चालन गरिएको हो । जलेश्वरबाट बेनीसम्मको करिब दुई किलोमिटर दूरीमा जलयात्रा सञ्चालन गरिएको हो । जलेश्वरबाट दोभानसम्म प्रतिव्यक्ति ८ सय र बगरफाँटबाट प्रतिव्यक्ति ६ सय शूल्क तोकिएको छ ।
र्याफ्टिङका लागि उत्तम मानिने कालीगण्डकी नदीको जलयात्राका साथै पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीको अवलोकनले थप रोमाञ्चक बनाउँछ । बेनी आसपासका क्षेत्रमा छोटो दूरीको जलयात्रामा पनि जोखिम कम र रोमाञ्चक बढी हुन्छ ।
दुईवटा ८-८ जना यात्रु क्षमताका बोट सञ्चालनमा ल्याइएको छ । जलेश्वर-बेनीलाई प्राथमिकता दिइएको भए पनि यात्रु र पर्यटकको चाहनाबमोजिम मालढुङगाबाट नयाँ पुल हुँदै मिर्मीसम्म पनि जलयात्रा गराउन सकिने जनाइएको छ । बेनीबाट मिर्मी तीन दिनको यात्रामा पुग्न सकिन्छ ।