रे समाचार/काठमाडौं । शेयर बजार आज उच्च अंकले वृद्धि भएको छ । पछिल्ला ३ कारोबार दिनदेखि सामान्य अंकले वृद्धि भएको शेयर बजार मापक नेप्से परिसूचक आज ५२.३६ अंकले वृद्धि भई २६६५.४५ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै आज कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । हिजो ६ अर्ब १९ करोडको शेयर खरिदबिक्री भएकोमा आज ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशतले बढेको छ । बाराही हाइड्रोपावरको शेयरमूल्य भने आज सर्वाधिक ८.२१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६१ करोड ३६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको ४१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने भने हिमालयन रि इन्स्योरेन्सको करिब ३२ करोडको शेयर किनबेच भएको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ४.२४ प्रतिशतले बढेको छ भने लगानी उपसमूहको परिसूचक करिब ४ प्रतिशतले वृद्धि भएको छ ।