RayNewsDaily
शेयर बजार दोहोरो अंकले वृद्धि

रे समाचार/काठमाडौं । पछिल्ला तीन कारोबार दिनदेखि घटेर बन्द भएको शेयर बजार आज भने दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २४.५० अंकले वृद्धि भई २६५७.७७ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ८ अर्ब ९२ करोडको शेयर खरिदबिक्री भएकोमा आज ९ अर्ब ४० करोड २६ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज ६ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । उपकार लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर, थ्रिस्टार हाइड्रोपावर, जानकी फाइनान्स, न्यादी हाइड्रोपावर र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, सिन्धु विकास बैंकको शेयरमूल्य करिब साढे ९ प्रतिशतले बढेको छ । दोल्ती पावरको शेयरमूल्य भने आज सर्वाधिक ८.४३ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज सप्तकोशी डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको  ३८ करोड २१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको २९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब २९ करोडको शेयर किनबेच भएको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.०७ प्रतिशतले वृद्धि भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update