रमेश हतुवाली/काठमाण्डू । चिनियाँ जनताको सबैभन्दा ठूलो पर्व वसन्त चाड आजदेखि विभिन्न कार्यक्रमहरुको आयोजना गरि भव्य रुपमा मनाईँदैछ । चिनियाँ नयाँ वर्ष वसन्त चाड मीठो खाने र राम्रो लगाउने मात्र नभई आपसमा अभिवादन साटासाट गर्ने, सबैको उन्नति र प्रगतिको कामना समेत गरिने भएकोले चिनियाँ समाजमा यस चाडको विशेष महत्व रहेको छ ।
स्वदेश वा विदेशमा रोजगारी अथवा अध्ययनका लागि गएकाहरु पनि यस चाडमा घर फर्किने हुनाले वसन्त चाडलाई पारिवारिक पुनरमिलनको चाड पनि भनिन्छ । यस चाडको अवसरमा चीनका अधिकांश सडक, पार्क, शैक्षिक संस्था, शहरदेखि ग्रामिण क्षेत्रका बस्तिसमेत विभिन्न रंगीचंगी ध्वजा, पताका र विजुली वत्तिले सजाईएको छ ।
वसन्त चाडको उपलक्ष्यमा चीनका राष्ट्राध्यक्ष तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङले पार्टी केन्द्रीय समिति र राज्य परिषदको तर्फबाट सबै जातिका जनता, देश भरका समूहहरु, हङकङ विशेष प्रशासनिक क्षेत्र, मकाओ विशेष प्रशासनिक क्षेत्र, ताइवान र विदेशमा रहेका चिनियाँहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
चिनियाँहरुले मनाउने वसन्त चाड नेपालीहरुले मनाउने दशैं जस्तै हो । वसन्त चाडको अवधिलाई विश्व कै सबैभन्दा विशाल मानव स्थानान्तरण पनि भनिन्छ । एकसाता लामो सरकारी विदाको समेत घोषणा गरिने चिनियाँ नयाँ वर्षमा शैक्षिक संस्था, व्यापारीक संघसंस्था र कूटनीतिक नियोगहरु पनि बन्द हुने गर्दछन् ।
चिनियाँ चन्द्रपात्रोअनुसार यो पर्वदेखि नै चिनियाँ नववर्ष सुरु हुने गर्दछ र यो उत्सव नै चिनियाँ तथा चिनियाँ मूलका मानिसहरुका लागि सबैभन्दा ठूलो पर्ब हो । यस वर्ष चिनियाँहरु सर्प वर्षको रुपमा भव्य रुपमा नयाँँ वर्ष मनाईरहेका छन् ।
यसैबीच चिनियाँ नयाँ वर्ष वसन्त चाडको उपलक्ष्यमा रे मिडिया ग्रुपले आज शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा बोल्नुहुँदै रे मिडिया ग्रुपका अध्यक्ष प्रकाश बाबु पौडेलले चिनियाँ नयाँ वर्ष वसन्त चाडको उपलक्ष्यमा चिनियाँ जनताको सुख, शान्ति, सुस्वास्थ्य, दीघार्य र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
समारोहमा शुभकामना व्यक्त गर्नुहुँदै चाईना मिडिया ग्रुपका दक्षिण एशिया व्यूरो प्रमुख चाङ युए वर्षाले नेपाली जनताले चीन र चिनियाँ जनतालाई दिएको माया, सद्भाव र सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।
शुभकामना व्यक्त गर्नुहुँदै चिनियाँ विज्ञान प्रतिष्ठानका सहप्राध्यापक डाक्टर शालिकराम सिग्देलले बसन्त चाडको अवधिमा चीनमा मानिसहरुको अत्यन्त ठूलो संख्यामा ओहोर दोहोर हुने जानकारी दिनुभयो । चिनियाँ नयाँ वर्षमा पारिवारिक मिलन, इष्टमित्र र साथीभाइबीचको भेटघाट र मिठा मिठा परिकारहरु खाने गरिएको पनि डा. सिग्देलको भनाइ छ ।
चाईना मिडिया ग्रुप नेपाली विभागका विदेशी विशेषज्ञ लक्ष्मी लम्सालले वसन्त चाडमा चीनका बजारहरु भरिभराउ हुने, मानिसहरुको ओहोर दोहोर बढ्ने, जताततै रंगिचंगी बत्तिहरु बालिने र खुशीयाली साटासाट गर्ने प्रचलन रहेको जानकारी दिनुभयो ।
युवा कलाकार जिवेस सिंह गुरुङले चिनियाँ नयाँ वर्षको शुभकामना व्यक्त गर्नुहुँदै सिन्च्याङ लगायतका शहरहरुमा चीन सरकारले गरेको लगानी, त्यहाँको आर्थिक विकास र समृद्ध जीवनशैलीबाट प्रभावित भएको जानकारी दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय महासभाको ७८औँ अधिवेशनले चन्द्रमासको चिनियाँ नयाँ वर्षलाई दिवसका रूपमा अपनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेसँगै बसन्त चाडले विश्वव्यापी पर्वको मान्यता प्राप्त गरेको छ । त्यसैले पनि चिनियाँ नयाँ वर्ष चीन लगायतका विश्वका विभिन्न देशहरुमा पनि भव्य रुपमा मनाउन थालिएको छ ।