रे समाचार/काठमाण्डू । सरस्वती बहुमुखी क्याम्पस अन्तर्गत हल्ट प्राइज एट एसएमसीको सेमिफाइनल चरणको प्रतियोगिता उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ । कुल १२ वटा टोलीहरूको सहभागिता रहेको सेमिफाइनल चरण प्रतियोगितामा सहभागीहरुले आफ्नो नविनतम् तथा समाजमा सकारात्मक प्रभाव पार्ने विचार प्रस्तुत गरेका थिए । १२ वटै प्रतिस्पर्धी टोलीहरूले पर्यावरणीय र सामाजिक समस्याहरू समाधान गर्ने विभिन्न नवप्रवर्तनशील विचारहरू प्रस्तुत गरेका थिए ।
सेमिफाइनलमा टिम फोर्टिट्यूडले प्रयोग गरिएका डायपर र स्यानिटरी प्याडबाट कागज उत्पादन गर्ने योजना प्रस्तुत गरेको थियो । यस्तै टिम ईसी वेयरले प्लास्टिक रिसाइक्लिङ गरी लुगा, खेलौना, पाइप आदि बनाउने विचार प्रस्तुत गरेको थियो । टिम बनाप्याडले केराको फाइबरबाट स्यानिटरी प्याड निर्माण गर्ने योजना प्रस्तुत गर्दा टिम सुगर ¥र्यापले उखुको प्रयोग गरिसकेपछि विभिन्न उत्पादनहरू बनाउन सकिने अवधारणा राखेको थियो ।
टिम साइट्रो ब्लूमले सिट्रोनेला तेल तथा अन्य उत्पादनहरू निर्माण गर्ने सोच अघि सारेको थियो भने टिम वायुदृष्टिले सस्तो र बोक्न मिल्ने वायु गुणस्तर मापन यन्त्र प्रस्तुत गरेको थियो । त्यसैगरी, टिम बीसीटीएसले पुराना सारीहरूबाट हस्तनिर्मित कार्पेट तथा अन्य सामग्रीहरू उत्पादन गर्ने योजना, टिम रिन्यु भिजनरीजÞले फोहोरलाई पुनः प्रयोग गरी नयाँ उत्पादनहरू निर्माण गर्ने अवधारणा, टिम ग्रीनले वातावरणीय कार्यमा संलग्न व्यक्तिहरूको लागि बीमा योजना प्रस्तुत, टिम सबै शेयरले अनावश्यक सामानहरू आदान–प्रदान गर्न सकिने डिजिटल एप बनाउने सोच, टिम जिरो साइकल नेपालले कार्यालयहरूमा प्रयोग भएका कागजबाट डेलिभरी झोला तथा अन्य सामग्रीहरू निर्माण गर्ने अवधारणा र टिम स्पार्कले चिकित्सा क्षेत्रका लागि रिपोर्ट, अपोइन्टमेन्ट आदिको व्यवस्थापन गर्ने एप निर्माण गर्ने योजना प्रस्तुत गरेका थिए । यो सेमिफाइनलमा प्रस्तुत भएका अवधारणा, विचार र योजनालाई आइएसएमटी क्याम्पस निर्देशक अभय थापा र क्रिमीका संस्थापक अदित्य आचार्यले मूल्यांकन गर्दै प्रतियोगीहरुलाई सल्लाह र सुझावहरू दिनुभएको थियो ।
योसँगै सरस्वती बहुमुखी क्याम्पसको हल्ट प्राइजको समापन भएको छ । यसअघि सरस्वती बहुमुखी क्याम्पस अन्तर्गत हल्ट प्राइज एट एसएमसी द्वारा माघ १४ गते “इन्भेष्टर म्यागनेटः आफ्नो पिचिङ क्षमता वृद्धि गरौं“ नामक कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको थियो । कार्यशालामा सरस्वती बहुमुखी क्याम्पसका पूर्वविद्यार्थी एवम् उद्यमी दीपेन्द्र जोशी प्रमुख प्रशिक्षकका रूपमा सहभागीहरुलाई कसरी प्रभावशाली र आकर्षक पिच तयार गर्ने भन्ने विषयमा मार्गदर्शन प्रदान दिनुभएको थियो । कार्यशालामा उहाँले कथा वाचन (स्टोरीटेलिङ), प्रस्तुति सीप, लगानीकर्ताहरूलाई आकर्षित गर्ने तरिका तथा व्यवसायिक विचारलाई उजागर गर्ने मुख्य पक्षबारे विस्तृत रूपमा प्रशिक्षण दिनुका साथै विभिन्न प्रकारका लगानीकर्ताका लागि पिचिङ शैली कसरी परिमार्जन गर्ने भन्ने महत्वपूर्ण जानकारी पनि प्रस्तुत गर्नुभएको थियो ।
यस्तै माघ ११ गते हल्ट प्राइज कार्यक्रम अन्तर्गत युवा पर्यटन उद्यमी विश्व भण्डारीले व्यावसायिक प्रस्ताव निर्माणसम्बन्धी विशेष तालिम दिनुभएको थियो । क्याम्पस परिसरमा सम्पन्न उक्त कार्यशालामा विद्यार्थीहरूलाई व्यवसायिक प्रस्ताव तयार पार्ने प्रविधि र त्यसलाई प्रभावकारी रूपमा कागजीकरण गर्ने उपायहरूबारे जानकारीसँगै प्रशिक्षक विश्व भण्डारीले आफ्नो उद्यमशीलताको यात्रा र सफल व्यवसायिक प्रस्ताव तयार पार्ने अनुभव साझा गर्दै स्पष्ट दस्तावेजीकरण, रणनीतिक योजना तथा लगानीकर्ताहरूलाई आकर्षित गर्ने तरिका बारेमा महत्वपूर्ण सुझाव दिनुभएको थियो ।
यस्तै, सह-इभेन्टको रुपमा हल्ट प्राइजले सामुदायिक संलग्नता बढाउनुका साथै सामाजिक उत्तरदायित्व तथा सेवाभाव प्रवद्र्धन गर्ने उद्देश्यसहित नेपाल टेलिकम (एनटीसी) सँगको सहकार्यमा सिम वितरण कार्यक्रम तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।