RayNewsDaily
शेयर बजारमा उच्च वृद्धि 

रे समाचार/काठमाडौं । शेयर बजार आज उच्च अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ६९.८० अंकले वृद्धि भई २७२७.५८ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । गत मंगलबार ९ अर्ब ४० करोडको शेयर खरिदबिक्री भएकोमा आज १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आजको कारोबार रकम पछिल्लो ५ महिनायताकै उच्च हो । यसअघि गत भदौ १८ गते नेप्सेमा साढे १३ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

आज ९ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । उन्नति सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, ग्रामीण विकास लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, समता लघुवित्त र न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक १० प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४१ करोड ९७ लाख २ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सिन्धु विकास बैंकको साढे ३० करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ४.९२ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने बैंकिङ्ग, जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ । 
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update