RayNewsDaily
व्यावसायिक मौरीपालनमा भोजपुर बैकुण्ठेका जोडिदै कृषक 

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्वर ६ वैकुण्ठेले कृषकलाई व्यावसायिक मौरीपालनमा जोड दिएको छ । मौरीपालनबाट राम्रो आम्दानी गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै मौरीपालनमा जोड दिएको हो ।

मौरीपालक कृषकलाई आवश्यक प्राविधिक ज्ञानसँगै आधुनिक मौरीको घार निर्माणको तालिम दिएपछि किसान उत्साहित भएका छन् । सो वडाका अधिकांश क्षेत्र मौरीपालनको लागि उपयोगि रहेको ठहर गर्दै वडाले किसानलाई आवश्यक प्राविधिक ज्ञानसँगै आधुनिक घार निर्माणको तालिम दिएपछि किसानहरु उत्साहित भएका छन् । पराम्परागत घारमा मौरीपालन गर्दै आएका किसान आधुनिक घारसँगै निर्माणको तालिम पाएपछि उत्साहित भएका हुन् । 

किसानलाई मौरीपालनमा जोड दिएसँगै स्थानीयस्तरमा चाहिने मह सोही वडामा उत्पादन हुन थालेको वडा कार्यालयले जनाएको छ । विगतमा पराम्परागत रुपमा हुँदै आएको मौरीपालनको लागि आधुनिक प्राविधिको विकासमा जोड दिएको वडाले जनाएको छ । वडाका मौरीपालक किसानलाई मौरीपालन सम्बधि दुई चरणको तालिम दिएको वडाको भनाइ छ । 

राससका अनुसार सो वडाको वाक्पा र भामलालाई मौरीपालनको लागि उपयुक्त मानिन्छ । किसानलाई स्थानीयस्तरमा नै कृषिबाट आयआर्जनमा जोड्नको लागि योजनाबद्ध रुपमा काम गरिरहेको गाउँपालिकाले जनाएको छ । सो वडाको कृषि उत्पादन जन्य क्षेत्रको पहिचान गरेर सोहि अनुसारको किसान लक्षित कार्यक्रममा जोड दिएको कार्यालयको भनाइ छ । गाउँपालिकाले बार्षिक नीति र कार्यक्रम समावेश गरेर मौरीपालनमा आवश्यक सहयोग गरिरहेको गाउँपालिकाले जनाएको छ । 

दोश्रो चरणमा वडाले घरेलु तथा साना उद्योग विकास कार्यालयसँगको सहकार्यमा सो वडाका ३५ जना किसानलाई एक महिने विशेष तालिम दिएको हो । मौरीपालन सम्वन्धि तालिम पाएपछि सहजता भएको किसानको भनाइ छ । आधुनिक घारमा मौरीपालन गर्दा उत्पादन बढी हुने र मौरी भाग्ने जोखिम कम हुने विज्ञहरुले बताएका छन् ।   

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update