रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
आज नेप्से परिसूचक २.४१ अंक बढेर २७३९ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने सामान्य घटेको छ । हिजो करिब १३ अर्बको शेयर खरिदबिक्री भएकोमा आज ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । उपकार लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । दुई वटा स्टकको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ग्रिन डेभलपमेन्ट बैंक र रिभर फल्स पावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
कारोबार रकमका आधारमा आज पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ३५ करोड ३० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको करिब ३३ करोडको शेयर किनबेच भएको छ भने बरुण हाइड्रोपावरको ३० करोडभन्दा बढीको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये आज ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ ।