RayNewsDaily
अमेरिकी उत्पादनमा १५ प्रतिशतसम्म थप कर लगाउने चीनको घोषणा
 फू छोङ, संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधी 

काठमाण्डू । चीनले अमेरिकी उत्पादनहरूमा प्रतिशोधात्मक शुल्क लगाउने घोषणा गरेको छ ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनहरुको आयातमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गर्नुभएको थियो । चीनले आजसम्म यो निर्णय फिर्ता नलिए उचित जवाफ दिने बताएको थियो । आज चीनले अमेरिकाबाट आउने सामानमा थप शुल्कको घोषणा गरेको हो । अमेरिकाबाट कोइला र तरल प्राकृतिक ग्यासको आयातमा चीनले १५ प्रतिशत कर थपेको छ । यसैगरी कच्चा तेल, कृषि मेशिनरी सामान, पिकअप ट्रक र ठूला इन्जिनका कारहरूमाथि थप १० प्रतिशत शुल्कको घोषणा भएको छ । यसले अमेरिकी उत्पादनलाई चीनमा प्रतिस्पर्धा गर्न गाह्रो हुनेछ ।

सीसीटिभीका अनुसार चीनको अर्थ मन्त्रालयले विज्ञप्ति निकालेर ट्रम्प प्रशासनले विश्व व्यापार सङ्गठनका कानून र नियम तोडेको पनि आरोप लगाएको छ । अमेरिकाले एकतर्फी कर लगाउनु विश्व व्यापार सङ्गठनको नियमको गम्भीर उल्लङ्घन भएको चीनको भनाइ छ । यसले चीन र अमेरिकाबीचको सामान्य आर्थिक र व्यापारिक सहयोगलाई पनि कमजोर बनाउने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यसैबीच न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधी फू छोङले भन्सार शुल्क बढाउने अमेरिकी निर्णयको विरोध गर्नुभयो । उहाँले कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आरोपहरूलाई पूर्ण रुपमा अस्वीकार गर्दै चिनियाँँ उत्पादनलाई कर वृद्धि गर्ने अमेरिकी घोषणाले विश्व व्यापार संगठनका नियमहरुको उल्लंघन गरेको बताउनुभयो । फू छोङले अमेरिकी व्यापार युद्धबाट कसैको पनि जीत नहुने भन्दै आफ्नै समस्याहरुतिर ध्यान दिन अमेरिका लाग्ने आशा पनि व्यक्त गर्नुभयो । 

अमेरिकाले यसअघि मेक्सिको र क्यानडाविरुद्ध २५ प्रतिशत कर लगाएको भए पनि ३० दिनका लागि स्थगित गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update