
रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ११.६४ अंकले घटेर २६९९.८१ विन्दुमा झरेको छ ।
नेप्से घटे पनि आज कारोबार रकम भने सामान्य वृद्धि भएको छ । हिजो ८ अर्ब ९५ करोडको शेयर खरिदबिक्री भएकोमा आज ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, सेन्ट्रल फाइनान्सको शेयरमूल्य साढे ६ प्रतिशतले बढेको छ भने सुपर मादी हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज दुई वटा स्टकको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । उपकार लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
कारोबार रकमका आधारमा आज साहस ऊर्जा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३१ करोड ३५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको २२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने बरुण हाइड्रोपावरको साढे १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज वित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ ।