रे समाचार/काठमाण्डू । कानून व्यवसायीको अनुगमन र नियमन गर्ने संस्था नेपाल कानून व्यवसायी परिषद्को पार्षद्का लागि आज सातवटै प्रदेशमा निर्वाचन हुँदैछ ।
परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानून व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताहरूको निर्वाचन मण्डलबाट एक जनाका दरले सातवटा प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्षद्हरूको चयन गर्नुपर्ने व्यवस्थाअनुसार आज निर्वाचन हुन लागेको हो ।
बागमती प्रदेशको मतदान आज बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म सर्वोच्च अदालत परिसरमा हुनेछ । बागमती प्रदेशका पार्षद् डा. चन्द्रकान्त ज्ञवालीका अनुसार मुलुकभर परिषद्को पार्षद् छनोटका लागि ११ हजार मतदाताहरु रहेका छन् ।
बागमती प्रदेशमा मात्रै ८ हजार २ सयजना मतदाता रहेका जनाउँदै उहाँले परिषद्बाट हालसम्म ३१ औँ परीक्षामा उत्र्तिण भएका सम्पूर्ण कानून व्यवसायीले मतदान गर्न पाउने उल्लेख गर्नुभयो । बागमती प्रदेश अन्तर्गत उच्च अदालत बार एशोसिएशन पाटनलाइ देशभरकै सबैभन्दा धेरै कानून व्यवसायीहरु संलग्न रहेको बार मानिन्छ । यस बारले नेपाल बार कानून व्यवसायी परिषद्को निर्वाचनमा निर्णायक मत प्रदान गर्दै आएको छ ।
बागमती प्रदेशका लागि प्रगतिशील, पेसागत, देशभक्त, समावेशी समूहका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता रविनारायण खनाल र नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसनका वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालाले उम्मेदवारी दिनुभएको छ ।
वरिष्ठ अधिवक्ता खनालले परिषद्लाई कानूनी बौद्धिक क्षेत्रका रूपमा विकास गर्ने, कानूनी शिक्षालाई वैज्ञानिक अभ्यासमूलक र गुणस्तरीय बनाउने, छुट्टै कानून विश्वविद्यालयको स्थापना गर्न आवश्यक पहल गर्ने, अन्तरराष्ट्रिय मापदण्डबमोजिम व्यावसायिक तथा व्यावहारिक शिक्षाको पाठ्यक्रम परिषद् आफैंले विकास गरी सो पाठ्यक्रम लागू गर्न गराउन पहल गर्नेलगायतका प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
वरिष्ठ अधिवक्ता कोइरालाले उम्मेदवारीको प्रतिबद्धतापत्रमा कानून व्यवसायीहरूको प्रमाणपत्र, परीक्षा सञ्चालन, कानून व्यवसायीको अनुगमन, क्षमता विकासलगायत क्षेत्रमा काम गर्ने जनाउनुभएको छ ।
महान्यायाधीवक्ताको अध्यक्षतामा रहने कानून व्यवसायी परिषद्को उपाध्यक्षमा नेपाल बार एशोसियसनको निर्वाचित अध्यक्ष, सर्वोच्च अदालतको रजिष्ट्रार, त्रिभूवन विश्वविद्यालयको डिनसहित सातवटा प्रदेशबाट सात जना पार्षद् चयन हुनेछन् । परिषद्का पार्षद्को पदावधि पाँच वर्षको व्यवस्था रहेको छ ।