
काठमाण्डू । नवौँ एशियाली हिउँदे खेलकुदको उद्घाटन समारोह आज राति हैलोङच्याङ प्रान्तीय हार्पिन शहरमा आयोजना गरिएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नवौँ एशियाली हिउँदे खेलकुद सुरू भएको घोषणा गर्नुभएको छ। चिनियाँ राष्ट्रिय झण्डा उठाउने समारोहपछि ३४ वटा देश र क्षेत्रका खेलसंग सम्बन्धित प्रतिनिधिमण्डलले एकपछि अर्को गर्दै रङ्गशालामा प्रवेश गरेका थिए। उनीहरूले सम्पूर्ण दर्शकबाट हार्दिकता र न्यानो स्वागत पाएका थिए।
उद्घाटन समारोहमा हङकङ विशेष प्रशासनिक क्षेत्रका प्रमुख कार्यकारी अधिकृत जोन ली च्या छाउ र मकाउ विशेष प्रशासनिक क्षेत्रका प्रमुख कार्यकारी साम होउ फाइ पनि उपस्थिति हुनुहुन्थ्यो। उद्घाटन समारोहमा एशियाली ओलम्पिक परिषद्का पदाधिकारीको पनि उपस्थिति थियो।
सो अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले घोषणा गर्नुभयो "हार्पिनमा नवौँ एशियाली हिउँदे खेलकुद सुरू भयो" तत्पश्चात दर्शकहरूले लामो समयसम्म ताली बजाएका थिए। रात्री आकाशमा चम्किलो आतिशबाजीले थप मोहकता ल्याएको थियो।
विभिन्न प्रदर्शनपछि मुख्य ज्योति बालिएको थियो। दर्शकहरूले "लाइट अफ एसिया" बोलको गीत गाएका थिए भने सम्पूर्ण कार्यक्रमस्थल आनन्दमयी र खुशीले भरिपूर्ण थियो।
ब्रुनाईका सुल्तान हसनल, किर्गिस्तानका राष्ट्रपति जापारोभ र उहाँकी श्रीमती, पाकिस्तानका राष्ट्रपति जरदारी, थाइल्याण्डका प्रधानमन्त्री पेटुन्तान, गणतन्त्र कोरियाको राष्ट्रिय सभाका सभामुख वू वोन शिक र उहाँकी श्रीमती उद्घाटन समारोहमा सहभागी हुनुभएको थियो। सीजीटिएन