
सन्तोष गौतम/मुस्ताङ, २८ माघ । मुस्ताङको लोघेकर-दामोदरकुण्ड गाउँपालिका वडा नम्बर ४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वको बारेमा प्रचारप्रसारको अभावमा ओझेलमा परेको आठ सय वर्ष पुरानो गुफाभित्र रहेको लुरी गुम्बा संरक्षणको पर्खाइमा छ ।
तान्त्रिक वौद्ध धर्मसँग नजिक निङ्मापा सम्प्रदायको लुरी घाङ गुम्बा १२औं शताब्दीमा बनेको हो । समुद्री सतहदेखि करिब चार हजार मिटर उचाईमा याराको पुर्वी कुनाको पहराको चेपमा रहेको लुरी गुम्बा अनौठो धार्मिक सम्पदा हो । गोरेटो र सिँढी हुँदै पहाडकोबीच भागमा रहेको तीन वटा गुफामा रहेको गुम्बामा पुगिन्छ । आँगनमा पुग्ने वेलामा काठको भ-याङ राखिएको छ । गुम्बाको मुख्य भाग, लामाको तपस्या स्थल पहराभित्र छिरेको गुफामा रहेको छ । लुरी गुम्बाको छोर्तेन प्राकृतिक हो ।
आकर्षक भित्तेचित्र भएको छोर्तेनको वरपर परिक्रमा गर्न मिल्ने सानो भाग पनि छ । यहाँका चित्रहरु पन्ध्रौ शताब्दीमा बनाइएको हो । पहराको ढुङगालाई नै थामको रूपदिई बनाइएकाले गुम्बामा भित्तेचित्र, पुस्तक, पुराना थाङ्का र पदमसम्भवको मूर्ति रहेको छ । भुटानी कन्या बिवाह गरेका तत्कालीन ल्होका राजाले आफ्नी पत्नीलाई खुसी पार्न लुरी गुम्बा बनाएको इतिहास छ ।
स्थानीयबासीहरुले यसलाई लुरी कावुङ भन्ने गर्छन् । अर्को किम्बदन्ती अनुसार यारा गाउँमा जन्मिएका उड्ने सिद्ध पाएका कुन्छाङ झलु नाम गरेका लामाले तपस्या गरेर ज्ञान आर्जन गरेका थिए । गुम्बा पारीको पहाडको चुचुरोलाई स्थानीयबासी कुन्छाङ झलु लामाको बासस्थान मान्ने गरेका छन् । मुख्य गुम्बा भन्दा केही तल पेयुङ खोलाको किनारमा अर्को गुम्बा पनि बनाइएको छ । दुवै ठाउँको गुम्बामा नियमित पुजाआजा हुने गर्छ ।
लुरी गुम्बाको नजिकैको यारा र घारा गाउँमा धर्मशाला र होटलको सुविधा छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ देखि ध्य खोला, ध्ये, सुर्खाङ, यारा हुदै करिब एक घण्टा सवारी साधनको यात्रा गरेपछि पुगिने घारा गाउँ देखि २० मिनेटको पैदलयात्रा गरेपछि दामोदरकुण्ड जाने बाटोमै रहेको लुरी गुम्बा पुगिन्छ ।
लोमान्थाङदेखि लुरी सर्किट पदमार्गको प्रयोग गरेर पनि यहाँ जान सकिन्छ । चराङ देखि घारा जाने क्रममा ध्ये, सुर्खाङ र यारा गाउँ, अनौठा आकृति भएको पहाड अवलोकन गर्न पाइन्छ । लोघेकर दामोदरकुण्ड गाउँपालिका र गण्डकी प्रदेश सरकाले सडक देखि लुरी गुम्बा पुग्ने ढुंगाको सिढी चिनेर पदमार्ग बनाएका छन् । यस वर्ष सार्वजनिक शौचालय बनाउन बजेट बिनियोजन गरेको वडा अध्यक्ष पासाङ गुरुङले बताउनुभयो । रासस