
रे समाचार/काठमाण्डू । नेपाली युवा टोली मैत्रीपूर्ण खेलमा चीनको युन्नान प्रान्तीय टोलीसँग पराजित भएको छ । चिनियाँ नयाँ वर्ष (सर्प वर्ष)को अवसरमा आयोजित सो मैत्रीपूर्ण फुटबलमा नेपालको युवा टोली चीनको युन्नान युथसँग पराजित भएको हो । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा युन्नान युथले नेपालको युवा टोलीलाई २-० गोलले हराएको हो ।
खेलको पहिलो हाफमै पाहुना टोलीले सुरूवाती अग्रता लिएको लिएको थियोे । सुरूवातदेखि नै युन्नानले नेपाली टोलीमाथि दबाब दिएको थियोे । तर, पाहुना टोलीले २१ औं मिनेटमा मात्र अग्रता लिन सफल भयो । ७८ औं मिनेटमा वाङ्ग पिन हानले अग्रता दोब्बर बनाउनुभयो । उहाँ ले काउन्टर अट्याकमा गोल गर्नुभएको हो । ८८ औं मिनेटमा विक्रम गौतमले डिबक्स एरिया बाहिरबाट प्रहार गरेको बललाई युन्नानका गोलकिपर लिइ चिपोले टप कर्नरबाट उत्कृष्ट बचाउ गर्नुभयो । त्यो नै नेपाली टोलीले खेल अवधिभर प्रहार गरेको एकमात्रै उत्कृष्ट प्रहार थियो ।
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा काठमाण्डूस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल ओभरसिज चिनियाँ सङ्घले संयुक्त रूपमा मैत्रीपूर्ण फुटबल आयोजना गरेका हुन् । खेलअघि दुवै देशका कलाकारले नृत्य, गायनका साथै सशस्त्र प्रहरी बलले ब्यान्ड प्रदर्शन गरेका थिए ।
साँस्कृति प्रस्तुतीले नेपाल र चीनबीचको जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको दर्शकहरुले रे टेलिभिजलाई बताएका छन् । यस वर्ष नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव हो । दुवै देशले विभिन्न कार्यक्रमहरुको आयोजना गरी कुटनीतिक सम्बन्धको वर्षगाँँठ भव्य रुपमा मनाउने निर्णय गरे अनुसार दुवै देशमा विभिन्न कार्यक्रमहरु आयोजना भैरहेका छन् ।