
बामाको । पश्चिमी मालीमा गैरकानूनी रूपमा सञ्चालित सुन खानी भत्किँदा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरू र स्थानीय स्रोतहरूले बताएका छन् ।
माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशहरू मध्ये एक हो र उत्खनन स्थलहरूमा प्रायः घातक पहिरो र दुर्घटनाहरू हुने गर्दछन् ।
विश्वका सबैभन्दा गरीब देशहरू मध्येको एक यस देशमा बहुमूल्य धातुको अनियमित खनन नियन्त्रण गर्न अधिकारीहरूले सङ्घर्ष गरिरहेका छन् ।
“आज १८ः०० (स्थानीय समय) बजेसम्म भत्किएर मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ”, एक प्रहरी स्रोतले भन्यो, “केही पीडित पानीमा खसे । तिनीहरू मध्ये एक महिला पनि थिइन् जसको पिठ्युँमा बच्चा थियो ।”
एक स्थानीय अधिकारीले खानी भत्किएको पुष्टि गरे भने केनिएबा गोल्ड माइनर्स एसोसिएसनले पनि मृत्यु सङ्ख्या ४८ रहेको जनाएको छ ।
पीडितहरूको खोजी जारी रहेको वातावरणीय सङ्गठनका प्रमुखले बताए ।
स्रोतहरूका अनुसार शनिबारको दुर्घटना एक चिनियाँ कम्पनीले पहिले सञ्चालन गरेको परित्यक्त स्थलमा भएको थियो ।
एएफपीका अनुसार जनवरीमा दक्षिणी मालीको एक सुन खानीमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु भएको थियो र धेरैजना बेपत्ता भएका थिए । तीमध्ये धेरैजसो महिला थिए ।
ठीक एक वर्षअघि शनिबारको पहिरो गएकै क्षेत्रमा रहेको एक सुन खानी स्थलमा सुरुङ भत्किँदा ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।