-1740038009.jpg)
गलेश्वर (म्याग्दी) । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी उपभोक्ता समितिका सदस्य र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको छ ।
गाउँपालिकाभित्रका सातवटै वडाका १४ उपभोक्ता समिति र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको हो । गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ का लागि प्रत्येक वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गतका दुई-दुई योजना गरी सात वडामा १४ योजना सञ्चालनमा छन् ।
स्वरोजगार कार्यक्रमअन्तर्गतका योजनामध्ये सार्वजनिक शौचालय निर्माण, पदमार्ग निर्माणलगायत योजनाका उपभोक्ता समिति र कामदारलाई हेल्मेट, ग्लोभ्स, बुट, ज्याकेटलगायत सुरक्षा सामग्री वितरण गरिएको गाउँपालिकाका रोजगार सहायक मिलन सुवेदीले जानकरी दिनुभयो । सुरक्षित, व्यवस्थित र प्रभावकारी कार्य सञ्चालन सुनिश्चित गर्न श्रमिकलाई प्रदान गरिएका सुरक्षा सामग्रीले काम गर्दा सुरक्षित वातावरण बन्ने सुवेदीले बताउनुभयो । रासस