
काठमाण्डू । ईजरायलले निरन्त गरेको घातक हवाई हमलाका कारण गाजा पट्टीले गम्भीर वातावरणीय संकटको सामना गरिरहेको छ ।
सडक र सार्वजनिक ठाउँहरूमा जम्मा भएको फोहोरको ठूलो थुप्रोले त्यहाँका बासिन्दाहरूको स्वास्थ्यमा डरलाग्दो खतरा सृजना गरेको छ । गाजा स्ट्रिपमा फोहोर संकलन लगायतका नगरपालिकाका सेवाहरू द्वन्द्वको शुरुमा नै भत्किएका थिए, जसले गर्दा फोहोर व्यवस्थापनको एक मात्र विकल्प सडकमा बनेको थियो । १५ महिनासम्म गरिएको इजरायली आक्रमणका कारणले भएको विनाशको बीचमा, गाजामा आधारभूत पूर्वाधारको पुनर्निर्माण गर्नु ठूलो चुनौती भएको छ ।
प्यालेस्टिनी नगरपालिकाहरूले इजरायली नियन्त्रणमा रहेका सीमाहरुका फोहोर फाल्ने साइटहरूमा पहुँच राख्न असमर्थ छन्, जसका कारण धेरैजसो फोहोर हटाउने मेसिनरीहरूलाई लक्षित गरी नष्ट गरिएको छ, जसले गर्दा गाजा पट्टीमा डरलाग्दो फोहोर जम्मा भएको छ । गाजा नगरपालिकाका इन्जिनियर मोहम्मद अलाशीका अनुसार त्यहाँको फोहोर हटाउनु धेरै ठूलो समस्या हो । उहाँले फोहोर हटाउन सबै अन्तर्राष्ट्रिय संस्थाहरूलाई सीमावर्ती ल्यान्डफिल साइटहरूमा पुगेर मद्दत गर्न आग्रह गरेको सीसीटीभिलाई बताउनु भएको छ ।
फोहोरले मुसा र कुकुरहरूलाई आकर्षित गरिरहेको बताउनुहुँदै उहाँले स्वास्थ्य गडबडीका कारण रातमा सुत्न नसक्ने र बच्चाहरू डराउँने गरेको जानकारी दिनुभयो । आन्द्राको संक्रमण र छाला रोगहरू फैलिने चिन्ता पनि छ उत्तिकै रहेको उहाँको भनाइ छ । संयुक्त राष्ट्र संघका अनुसार गाजामा ९० प्रतिशत भन्दा बढी आवास एकाइहरू क्षतिग्रस्त भएका छन् । त्यहाँका १ लाख ६० हजार भवनहरु नष्ट भएका छन् । अन्य २ लााख ७६ हजार भवनहरुमा गम्भीर वा आंशिक रूपमा क्षति पुगेको छ । त्यहाँ करिब ४२ मिलियन टन फोहोर रहेको राष्ट्र संघको अनुमान छ ।
विभिन्न कठिनाइहरूको बावजुद, प्यालेस्टिनीहरूले चुनौतिहरूको सामना गर्न र बन्द सडकहरू खोलेर, आंशिक रूपमा पूर्वाधार पुनस्र्थापना गरेर, साथै सीमित उपकरणहरूसँग पानीको इनार खनेर जीवन पुनर्निर्माण गर्ने प्रयास गरिरहेका छन् । राष्ट्र संघका अनुसार पुनर्निर्माण प्रक्रिया पुरा गर्न दशकौं लाग्ने अपेक्षा गरिएको छ, जसको लागत ८० बिलियन अमेरिकी डलर सम्म पुग्ने अनुमान छ ।