
रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । पछिल्ला ५ कारोबार दिनदेखि बढिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
आज नेप्से परिसूचक ३.३५ अंकले वृद्धि भई २७५८.७५ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने सामान्य घटेको छ । हिजो ११ अर्ब ५४ करोडको शेयर खरिदबिक्री भएकोमा आज ११ अर्ब ८ करोड ५४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयर निरन्तर ११ औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य साढे ९ प्रतिशतले बढेको छ भने बोटलर्स नेपालको शेयरमूल्य ८ प्रतिशतले वृद्धि भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८९ करोड ३५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको साढे ८० करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब ४५ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ ।