RayNewsDaily
विद्यार्थीको सिकाई उपलब्धि वृद्धि नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी   

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी बनेको छ ।    
    
शिक्षा मन्त्रालयको सहयोगमा आर्थिक वर्ष २०७८÷०७९ देखि शुरु भएको कार्यक्रमले विद्यार्थीको सिकाई उपलब्धि वृद्धि, व्यवस्थापनमा सुधार र भौतिक पूर्वाधार विस्तार भएको हो । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा शैक्षिकसत्र २०७८ को औसत सिकाई उपलब्धी दुई दशमलब ८४ जिपिए रहेकोमा २०८० मा तीन दशमलब शून्य एक जिपिए पुगेको प्रअ सोमनाथ ढुङ्गानाले बताउनुभयो ।    
    
“पाँच वर्षे गुरुयोजना अनुसार कमजोर विद्यार्थीलाई लक्षित गरेर अतिरिक्त कक्षा, १-३ मा कक्षा शिक्षण, पठनपाठनमा प्रविधिको प्रयोग, विद्यार्थीलाई मौलिक सिप हस्तान्तरण र उत्पे्ररणमुलक क्रियाकलाप गरिएको छ,” उहाँले भन्नुभयो “शिक्षकहरुको क्षमता विकाससँगै विद्यार्थीको क्षमता पहिचान गरेर पठन क्रियाकलाप सञ्चालन गरेपछि सिकाई उपलब्धी वृद्धि हुन थालेको छ ।”    
    
कक्षा १ देखि ३ सम्म एउटा कक्षामा एक जना शिक्षकले सबै विषय पठनपाठन गराउने अभ्यास थालिएको छ । यसबाट विद्यार्थीको आनीबानी र क्षमता पहिचान गरेर सिकाई क्रियाकलाप सञ्चालन गर्न सहज भएको शिक्षक नवराज शर्माले बताउनुभयो ।    
    
कक्षा ८ सम्मका सबै विद्यार्थीलाई अनिवार्य, नौ र १० मा कम्प्युटर विषयको ऐच्छिक कक्षा सञ्चालन गरेको जामुनाखर्कले विज्ञान प्रयोगशाला र पुस्तकालय स्थापना गरेको छ । गणित, सामाजिक प्रयोगशाला (स्टिम ब्याग) पनि छ । कक्षा ११ र १२ मा पूर्ण रुपमा निशूल्क पठनपाठनको ब्यवस्था मिलाएको छ ।    
    
सबै कक्षाकोठामा ‘स्मार्टबोर्ड’ राखिएको छ । सबै शिक्षकहरुको साथमा ल्यापटप छ । शिक्षकले ल्यापटपमा इन्टरनेटको सहयोगमा सिकाई सामग्री खोज्ने र पढाउने गर्छन् । प्राथनाको समयमा शिक्षक र विद्यार्थीहरुले विबिध विषयमा प्रश्नउत्तर गर्छन् ।    
    
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा ९ र १० का विद्यार्थी टिकाउ र २०८० को एसईई परीक्षाको उत्तीर्णर्णदरका आधारमा गरेको मूल्याङ्कनमा जामुनाखर्क म्याग्दी जिल्लामा पहिलो भएको थियो ।    
    
विषयगत विभाग गठन गरेर शिक्षकहरुको कार्यविभाजन, शैक्षिक प्रर्दशनी र महोत्सव आयोजना गरेको छ । विद्यार्थीहरुलाई सिर्जनशिल र अध्ययनशिल बनाउन अतिरिक्त क्रियाकलाप, व्यवसायिक, व्यवहारिक सिप सिकाउन गुन्द्रि बुन्ने, पाक शिक्षा, वायरिङ र पलम्बीङ तालिम सञ्चालन गरेको छ ।    
    
कक्षा १० का विद्यार्थीका लागि छात्रावास सञ्चालन गरेको विद्यालयले अभिभावकसँग नियमित अन्तरक्रिया र योग प्रशिक्षण चलाएको छ । शिक्षकहरुलाई सूचना प्रविधि, मूल्याङकन् र कक्षा व्यवस्थापन तालिम दिएको छ ।    
    
शिक्षा मन्त्रालयले बेनी नगरपालिका मार्फत उपलब्ध गराउने बजेटबाट भौतिक, शैक्षिक र व्यवस्थापनकीय सुधारका गुरुयोजनामा प्रस्तावित कार्यक्रम गरिएको प्रअ ढुङ्गानाले बताउनुभयो । यसअघिका तीन वटा आर्थिक वर्षमा रु. तीन करोड ९० लाख बजेट पाएको विद्यालयमा यस वर्ष प्राप्त भएको रु. एक करोड बजेटबाट प्रशासनिक, प्रयोगशाला भवन र घेराबार निर्माणका लागि ठेक्का आव्हान भएको छ । गत वर्षको बजेटबाट ठेक्का मार्फत चार कोठे भवन निर्माणको अन्तिम चरणमा छ ।    
    
हालसम्म ब्लक (ए)मा चार कोठे कक्षाकोठा, ब्लक (बि)मा १० कोठे छात्रावास भवन र शौचालय निर्माण भएको छ । ब्लक (ए)मा रहेको खेलमैदानमा पेभर ब्लक बिछ्याई बालमैत्री खेलकुदका सामग्री राखिएको छ । नयाँ भवन निर्माणका लागि ब्लक (बि) मा विद्यालयले नौ रोपनी १४ आना जग्गा खरिद गरेको छ ।    
    
हाल दुई सय १५ जना विद्यार्थी रहेको जामुनाखर्कमा नमुना विद्यालय कार्यक्रमबाट विद्यार्थीहरुलाई छात्रवृत्तिको पनि ब्यवस्था मिलाइएको छ । गत वर्ष स्थापना भएको हिराबहादुर बानिया स्मृति छात्रवृत्ति कोषले विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री र दिवा खाजामा सघाएको छ । हाल रु. आठ लाख १२ हजारको अक्षयकोषको रकम वृद्धि गरेर पाँच वर्षमा रु. २५ लाख पु¥याउने संरक्षकले घोषणा गरेका छन् ।    
    
जामुनाखर्कको सेवाक्षेत्रबाट १२ जना विद्यार्थी अन्यत्रको विद्यालयमा अध्ययनका लागि जाँदा सेवा क्षेत्रभन्दा बाहिरबाट आउने विद्यार्थीको संख्या १८ जना छ । कक्षा छ भन्दा माथिल्लो कक्षामा निजी विद्यालय छाडेर पढ्न आएपनि तल्लो कक्षामा भर्ना हुने विद्यार्थी संख्या कम छ ।    
    
जन्मदर कम हुनु र बसाईसराईका कारण विद्यार्थी सङ्ख्या बढाउने, अहिले भएको शैक्षिक उपलब्धीलाई टिकाउने र वृद्धि गर्ने चुनौति रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदीले बताउनुभयो ।    
    
तीन किलोमिटर नजिक रहेको बेनीका विद्यालयमा देखिएको विद्यार्थीको चाप घटाउन जामुनाखर्क विकल्प बन्न सक्ने सम्भावना छ । यसका लागि विद्यालय बस र प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष सुवेदीले बताउनुभयो । रासस

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update