RayNewsDaily
शेयर बजारमा गिरावट

रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन शेयर बजारमा आज गिरावट आएको छ । सोमबार नेप्से परिसूचक १३.६२ अंक घटेर २८७६ विन्दुमा झरेको छ ।

पछिल्ला ९ कारोबार दिनमा नेप्से परिसूचक करिब २१२ अंक बढेपछि लगानीकर्ताहरूले नाफा सुरक्षित गर्दा आज बजारमा करेक्सन भएको हो । शेयर बजार मापक नेप्से घटे पनि आज कारोबार रकम भने सामान्य बढेको छ । हिजो १४ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएकोमा आज १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य करिब साढे ९ प्रतिशतले बढेको छ भने सिन्धु विकास बैंकको शेयरमूल्य करिब ८ प्रतिशतले वृद्धि भएको छ । समाज लघुवित्त वित्तीय संस्थाको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १ अर्ब ३८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको करिब साढे ७३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको करिब साढे ३६ करोडको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update