
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा फर्किएपछि पहिलो पटक अमेरिकी कङ्ग्रेस (संसद्)लाई सम्बोधन गर्दै ‘अमेरिका फर्किएको’ घोषणा गर्नुभएको छ ।
आफ्नो कट्टरपन्थी नीतिको प्रशंसा गर्दै डेमोक्र्याटिक पार्टीको शत्रुताको सामना गरेपनि युक्रेनमा सफलताको घोषणा गर्नुभएको छ।
राष्ट्रपति ट्रम्पले अर्बपति सल्लाहकार एलन मस्कले संघीय कर्मचारीतन्त्रमाथि गरेको विवादास्पद हस्तक्षेपको बारम्बार प्रशंसा गर्दै भन्नुभयो, “मेरो प्रशासन ‘भर्खर शुरू हुँदै छ।”
सन् २००० मा बिल क्लिन्टनको ‘स्टेट अफ द युनियन’को भाषणको लम्बाईलाई रेकर्ड तोडेको एक घण्टा ४० मिनेट लामो भाषणमा ट्रम्पले भन्नुभयो, ‘अमेरिकी सपना अजेय छ ।'
जेम्स ट्रस्लो एडम्स द्वारा १९३१ मा महामन्दी को समयमा लोकप्रिय भएको ‘अमेरिकन ड्रिम्स’ भनेको संयुक्त राज्य अमेरिकाको कथित राष्ट्रिय लोकाचारलाई जनाउने वाक्यांश हो । यसको अर्थ अमेरिकी प्रत्येक व्यक्तिसँग सफल हुने र राम्रो जीवन प्राप्त गर्ने स्वतन्त्रता र अवसर छ भन्ने हो ।
लगभग हरेक वाक्यांशसँगै रिपब्लिकन पार्टीका सदस्यहरूबाट ठूलो तालीको गडगडाहट पाएको उक्त सम्बोधनमा ट्रम्पले छुट्टाछुट्टै दुई पटक स्पेसएक्स र टेस्लाका मालिक मस्कको नाम उच्चारण गर्नुभएको थियो ।
सम्बोधनमा तालिको गडगडाहटकै केही मिनेटमै विपक्षी सांसदहरूले विरोध गेका थिए ।
विरोधका क्रममा स्वास्थ्य सेवाका कार्यक्रमहरूलाई लिएर ट्रम्पको विरोध गरिरहेका डेमोक्र्याटहरूले चुपचाप ‘झूटो’, ‘मस्कले चोरी गरे’ र ‘यो झूट हो’ जस्ता प्लेकार्डहरू बोकेर सभा हलमा उभिएका थिए ।
विरोधको कुनै एक क्षणमा अधिकांश डेमोक्र्याटहरूले ट्रम्पले आफ्नो चुनावी हार स्वीकार गर्न अस्वीकार गरेको सन् २०२१ जनवरी ६ मा क्यापिटोलमा ट्रम्पका समर्थकहरूले हिंसात्मक आक्रमणको विगत कोट्याउने प्रयास गर्दै ‘जनवरी ६’ भनेर नारा लगाएका थिए ।
अठहत्तर वर्षीय राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो ६ हप्ताको प्रशंसा गर्दै अमेरिकी सरकारलाई नयाँ आकार दिन र युक्रेन युद्ध अन्त्यका लागि आफ्नो ध्रुवीकरणको प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नयाँ करहरूले घरेलु उद्योगलाई फाइदा
संयुक्तराज्य अमेरिकाको अर्थव्यवस्थामा करसम्बन्धी नयाँ निर्णयले केही ‘अस्थिरता’ ल्याउने भए पनि राष्ट्रपति ट्रम्पले यसलाई घरेलु उद्योगको विकासको एक उपकरणका रूपमा प्रस्तुत गर्नुभएको छ ।
“करहरू केवल अमेरिकी रोजगारीको संरक्षण मात्र होइन । यो हाम्रो देशको आत्माको संरक्षण हो”, ट्रम्पले संयुक्त सदनलाई सम्बोधन गर्दै भन्नुभयो, “केही अस्थिरता आउनेछ तर हामी त्यसका लागि तयार छौंँ, त्यति धेरै होइन ।”
“त्यहाँ थोरै गडबडी हुनेछ तर हामी यससँग ठिक छौँ, यो धेरै हुनेछैन”, उहाँले भन्नुभयो ।
संयुक्त राज्य अमेरिकामा आफ्ना उत्पादनहरू नबनाउने कम्पनीहरूले अतिरिक्त करहरू तिर्नुपर्ने चेतावनी दिँदै उहाँले भन्नुभयो, “केही अवस्थामा धेरै बढी कर ।”
ट्रम्पले युरोपेली सङ्घ (इयु) र क्यानाडा, ब्राजिल, भारत, मेक्सिको र दक्षिण कोरियालगायतका देशहरूमा ‘अन्यायपूर्ण’ व्यापारिक अभ्यासहरूको आलोचना गर्नुभयो ।
“यो मित्र र शत्रु दुवैबाट भइरहेको छ । यो प्रणाली संयुक्त राज्य अमेरिकाका लागि उचित छैन र कहिल्यै पनि थिएन”, उहाँले भन्नुभयो ।
उहाँले अमेरिकी व्यापारिक साझेदारहरूका लागि तयार पारिएको पारस्परिक कर अप्रिल २ देखि लागु हुने जानकारी दिनुभयो ।
ट्रम्पले रोजगारी सिर्जनाका साथै करबाट ‘खर्बौं डलर’ प्राप्त गर्ने वाचा गर्नुभएको छ ।
कार्यालयमा फर्केपछि ट्रम्पले क्यानाडा, मेक्सिको र चीनबाट आउने १४ खर्ब डलरका आयातमा करहरू लगाउन चाँडै काम गर्नुभएको छ र थप करहरू पाइपलाइनमा छन् ।
यी कदमले वित्तीय बजारमा ठूलो हलचल ल्याएको छ । यसले तीव्र प्रतिशोधका साथ विपरीत कर र अन्य उपायहरू आकर्षित गरेको छ । एएफपी