रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार बढेर बन्द भएको छ । पछिल्ला ७ कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्से परिसूचक १७.२८ अंक बढेर २७३६.४८ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि आज कारोबार रकम भने सामान्य घटेको छ । हिजो ८ अर्ब ३९ करोडको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.७९ प्रतिशतले बढेको छ । यसैगरी, प्रभु इन्स्योरेन्सको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा भने आज सर्वाधिक १० प्रतिशतले गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज माछापुच्छ्रे बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ८१ करोड ३६ लाख रुपैयाँबराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ । यसैगरी, हिमालयन रि इन्स्योरेन्सको ५६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे ४९ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने २ वटा उपसमूहको परिसूचक घटेको छ । लगानी उपसमूहको परिसूचक सर्वाधिक १.७६ प्रतिशतले वृद्धि भएको छ ।