
रमेश हतुवाली/काठमाण्डू । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगा प्रसाद उप्रेती अथक यात्री र जिज्ञासु स्वभावका बहुआयामिक व्यक्तित्व भएको बताउनुभएको छ ।
केपी शर्मा ओली, प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले आज एक समारोहबीच काठमाण्डू कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उप्रेतीद्वारा लिखित मेरा अतीतका कथाहरु नामक आत्मवृतान्तको लोकापर्ण गर्दै सो विचार व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले साहित्यकार उप्रेती जस्तोसुकै परिस्थितिमा पनि देश र परिवर्तनप्रति निष्ठापूर्वक लागेका व्यक्ति भएकाले उहाँको कृति नयाँ पुस्तालाई जागरण गराउन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । साथै ओलीले लेखक गंगा प्रसाद उप्रेती अथक यात्री र जिज्ञासु स्वभावका बहुआयामिक व्यक्तित्व भनि टिप्पणी गर्नुभयो ।
वैरागी काईँला, पूर्वकुलपति, नेपाल प्रज्ञा प्रतिष्ठान
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले जीवनी र लेखन कुनै एउटा व्यक्तिको रामकहानी मात्र नभएर उ बाँचेको परिवार, समाज र राष्ट्रको आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक लगायतका क्षेत्रहरुको गतिविधीको रकेर्ड भएको बताउनुभयो ।
प्राध्यापक जगतप्रसाद उपाध्याय, पूर्वसदस्यसचिव, नेपाल प्रज्ञा प्रतिष्ठान
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले लोकार्पित कृतिको समिक्षा गर्नुहुँदै लेखक उप्रेतीको जीवन भोगाई, सरल स्वभाव, लगनशिलता, कर्तव्यपरायणता लगायतका कुराहरुबाट धेरैले प्रेरणा लिन सक्ने बताउनुभयो ।
गंगा प्रसाद उप्रेती, पूर्वकुलपति, नेपाल प्रज्ञा प्रतिष्ठान
लोकार्पित पुस्तकका लेखक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगा प्रसाद उप्रेतीले पुस्तकका बारेमा संक्षिप्त जानकारी दिनुहुँदै लोकार्पित पुस्तक आफ्नो निजी जीवनसँग केन्द्रित रहे जस्तो देखिए पनि त्यसले समाज र देशको इतिहासलाई पनि समेटेको बताउनुभयो ।
मकालु ग्रुप अफ कम्पनीका अध्यक्ष बासुदेव ढकालको सभापतित्वमा सम्पन्न सो लोकार्पण समारोहमा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्मा, मकालु ग्रुप अफ कम्पनीका सञ्चालक तिलक बहादुर अधिकारीले पनि बोल्नु भएको थियो । सो लोकापर्ण समारोहको आयोजक तथा पुस्तकको प्रकाशक मकालु ग्रुप अफ कम्पनी कालिकास्थान, काठमाण्डू रहेको छ । उक्त कृतिको मूल्य ९ सय ९५ रुपैँया राखिएको छ ।