
रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २१.६३ अंक घटेर २७१४.८५ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत बुधबार ८ अर्ब २३ करोडको शेयर खरिदबिक्री भएकोमा ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.१९ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, विशाल बजार कम्पनीको शेयरमूल्य करिब साढे ५ प्रतिशतले बढेको छ भने आरएसडिसी लघुवित्त वित्तीय संस्था र अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक ७.९१ प्रतिशतले र पिपुल्स हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५८ करोड ६६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, महालक्ष्मी विकास बैंकको करिब साढे ३७ करोडको शेयर किनबेच भएको छ भने घलेम्दी हाइड्रोको करिब ३७ करोडको शेयर कारोबार भएको छ ।