
रे समाचार/काठमाडौं । यो साताभर घटेको शेयर बजार परिसूचकमा आज पनि गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन आज बजार परिसूचक १२.३८ अंकले घटेर २६६९.७६ अंकमा पुगेको हो । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँबराबरको शेयर कारोबार भएकोमा आज ४ अर्ब ५६ करोड १३ लाख ११ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
आज दोल्ती पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ६.९० प्रतिशतले वृद्धि भएको छ । यसैगरी, एशियन हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने सिन्धु विकास बैंकको शेयरमूल्य ५ प्रतिशत र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ५ प्रतिशतले बढेको छ । आज दुई वटा स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मिथिला लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २८ करोड २१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, हिमालयन रि इन्स्योरेन्सको २३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सिन्धु विकास बैंकको साढे १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज व्यापार उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक घटेको छ ।
नेप्सेले आजदेखि दुई बजेर ४५ मिनेट देखि ३ बजेसम्म कारोबार हुने शेयरको अन्तिम भारित औशत कारोबार मूल्य नै अन्तिम कारोबार मूल्य कायम हुने व्यवस्था लागू गरेको छ । यसले गर्दा अधिकांश स्टकहरूको मूल्य परिवर्तन भई सूचकहरू पनि परिवर्तन भएको छ । औशत मूल्य गणना गर्नुअघि १२.३८ अंक घटेर २६६९.७६ विन्दुमा बन्द भएको नेप्से औशत गणनापछि १२.८४ अंक घटेर २६६९.३१ विन्दुमा बन्द भएको छ ।