
रमेश हतुवाली/काठमाडौं । काठमाडौँको तीनकुनेबाट राजासंस्थावादीहरू बानेश्वरतर्फ अघि बढेपछि प्रहरी अश्रुग्यास प्रहार गरेको । जुलुसलाई अघि बढ्नबाट रोक्नका लागि प्रहरीले करिब तीन सय राउन्ड अश्रुग्यास प्रहार गरेको छ । यतिले पनि प्रदर्शनकारीहरू नरोकिएपछि प्रहरीले पानीको फोहोरा पनि प्रहार गरेको छ । तीनकुनेमा अहिले प्रहरी र प्रदर्शनकारीको धकेलाधकेल चलिरहेको छ । ब्यारिकेड तोडेर अघि बढ्न खोजेपछि प्रदर्शनकारीहरूलाई रोकिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताउनुभएको छ ।
संसद् भवनतर्फ आउन खोजेपछि रोक्ने क्रममा प्रहरी र पूर्वराजा समर्थहरुको बिचमा ‘धकेलाधकेल’ भएको हो । प्रहरीले शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ लाई स्थानीय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ ।
प्रदर्शनकारीले आन्दोलन शान्तिपूर्ण हुने बताए पनि निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण भएको हो ।