RayNewsDaily
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले मङ्गलबार जुन ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गर्नुभएको छ ।

मुलुकका पूर्वराष्ट्रपति युन सुक योलको मार्शल ल घोषणाको विनाशकारी प्रयासपछि उहाँलाई पदबाट हटाइएपछि यो निर्णय आएको हो ।

पूर्वराष्ट्रपति युनले नागरिक शासन अवरुद्ध गर्ने प्रयास गर्नुभएको तर सांसदहरूद्वारा तुरुन्तै महाभियोग लगाइएको र पदबाट निलम्बन गरिएपछि दक्षिण कोरिया डिसेम्बरदेखि प्रभावकारी रूपमा नेतृत्वविहीन रहेको छ ।

गत हप्ता अदालतले उहाँको महाभियोगलाई सदर गरेको थियो । उक्त फैसलाले उहाँलाई शीर्ष पदबाट हटाएसँगै ६० दिनभित्र नयाँ निर्वाचन गराउनुपर्ने प्रावधानअनुसार नयाँ निर्वाचनको मार्ग खुलेको हो ।

रकारले ‘राष्ट्रिय निर्वाचन आयोग र अन्य सम्बन्धित निकायहरूसँग छलफल गरेको’ प्रधानमन्त्री हान डक–सुले मङ्गलबार बताउनुभयो ।

यसले ‘सहज निर्वाचन सञ्चालन सुनिश्चित गर्न र राजनीतिक दलहरूलाई तयारीका लागि पर्याप्त समय दिन आवश्यक छ’ भन्ने कुरालाई पनि ध्यानमा राखेको उहाँले बताउनुभयो ।

फलस्वरूप ‘दक्षिण कोरियाको २१औँ राष्ट्रपति निर्वाचनको मिति जुन ३ तोक्ने निर्णय गरेको’ भन्दै उहाँले मतदानलाई सहज बनाउन त्यस दिनलाई अस्थायी सार्वजनिक बिदाका रूपमा तोकिने जानकारी दिनुभयो ।

प्रधानमन्त्री हानले मन्त्रालय र राष्ट्रिय निर्वाचन आयोगलाई ‘पहिलेभन्दा निष्पक्ष र पारदर्शी एवं जनताको विश्वास कमाउन सक्ने निर्वाचन सुनिश्चित गर्न पूर्ण तयारी गर्न’ आह्वान गर्नुभयो ।

नियमित निर्वाचनमा राष्ट्रपति–निर्वाचित व्यक्तिलाई दुई महिनाको सङ्क्रमणकालीन अवधि दिइन्छ भने जुन ३ को निर्वाचनमा विजयी हुने व्यक्ति अर्को दिनै पदमा नियुक्त हुनेछन् ।

अहिलेका लागि प्रधानमन्त्री हानले कार्यवाहक राष्ट्रपतिका रूपमा सरकार चलाइरहनुभएको छ । संवैधानिक अदालतले उहाँको आफ्नै महाभियोगलाई खारेज गरेपछि उहाँले भर्खरै पुनः काम सुरु गर्नुभएको हो ।

चुनावी अभियान मे देखि शुरु

राष्ट्रपति निर्वाचन सामान्यतया बुधबारहरूमा गरिन्छ तर रिक्त पदपूर्तिका लागि आयोजित आकस्मिक मतदानका लागि कुनै विशेष दिन तोकिएको छैन ।

आधिकारिक चुनावी अभियान मे १२ देखि जुन २ सम्म चल्नेछ । विपक्षी नेता ली जे–म्युङ अहिलेसम्मको जनमत सर्वेक्षणमा अग्रस्थानमा रहनुभएको छ ।

पछिल्लो ग्यालप सर्वेक्षण अनुसार उहाँको समर्थन दर ३४ प्रतिशत रहेको छ । उहाँको पार्टीले पहिले नै राष्ट्रिय विधानसभामा नियन्त्रण गरेको छ ।

सन् २०२२ को राष्ट्रपति चुनावमा उहाँ युनसँग थोरै मतले पराजित हुनुभयो तर चलिरहेको मुद्दासहित कानूनी समस्याहरूले छायामा पारेको करियरका बाबजुद मुख्य विपक्षी दलका नेताका रूपमा राजनीतिक पुनरागमन गर्नुभयो ।

दोस्रो स्थानमा श्रममन्त्री किम मुन–सु हुनुहुन्छ ।

नौ प्रतिशत मत पाउँदै उहाँले युनको पिपल्स पावर पार्टीका चुनौतीकर्ताहरूको समूहको अगुवाइ गर्दै हुनुहुन्छ ।

यसमा पूर्व पार्टी प्रमुख हान डोङ–हुन पनि समावेश हुनुहुन्छ । लाखौँ कोरियालीले शुक्रबार संवैधानिक अदालतले युनलाई पदबाट हटाउने फैसला प्रत्यक्ष टेलिभिजनमा हेरेका थिए ।

यूनले सांसदहरूलाई आफ्नो आदेशलाई मतदान गर्नबाट रोक्नका लागि सशस्त्र सैनिकहरू संसद्मा पठाउनुभएको थियो । उक्त आदेशलाई अदालतले ‘राजनीतिक उद्देश्यका लागि’ सेना तैनाथ गरेको बताएको छ । यु

न सन् २०१७ मा पार्क ग्युन–हाइपछि अदालतले महाभियोग लगाउने दोस्रो दक्षिण कोरियाली नेता हुनुहुन्छ ।

दक्षिण कोरियाले मार्शल ल घोषणा गरेदेखि चार महिना राज्यका प्रभावकारी प्रमुख बिना बिताएको छ ।

नेतृत्वको अभावमा देशले विमान दुर्घटना र देशको इतिहासमा सबैभन्दा घातक डढेलो लगायत विभिन्न सङ्कट र चुनौतीहरू भोग्नुपरेको छ ।

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी तथाकथित पारस्परिक करहरू लगाउनुभएपछि दक्षिण कोरियामाथि प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकामा गरिने निर्यातमा २५ प्रतिशत भन्सार महसुल लगाइएको थियो ।

युनले मार्शल ल प्रयाससँग सम्बन्धित विद्रोहको आरोपमा अलग फौजदारी मुद्दाको सामना पनि गरिरहनुभएको छ ।

 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update