RayNewsDaily

भजनी (कैलाली), २७ चैतः  भजनी नगरपालिका–९ का हेमराज चौधरीको आर्थिक अवस्था कमजोर छ । उहाँलाई खाना पकाउन दाउरा चाहिन्थ्यो ।  दाउराको आवश्यकता उहाँले नजिकैको सामुदायिक वनबाट टार्दै आउनुभएको थियो । उहाँ दाउराको चुल्होबाट मुक्त हुनु भएको छ । ओम शान्ति सामुदायिक वनले ग्यास सिलिण्डरसँगै चुल्हो पनि वितरण गरेपछि उहाँको मुहारमा चम आएको छ ।

सामुदायिक वनले विपन्न उपभोक्तालाई ग्यास र चुल्हो वितरण गरेसँगै हेमराजजस्तै १८० परिवार दाउराको निर्भरताबाट मुक्त भएका छन् । हेमराज भन्नुहुन्छ, “ग्यास चुल्हो पाएपछि त्यसैको सदुपयोग गर्छौँ । जङ्गल गएर दाउरा खोज्नुपर्ने बाध्यता अन्त्य भएको छ ।”

वर्षौँदेखि दाउरा बालेर खाना पकाउनुपर्ने बाध्यता अन्त्य भएपछि सामुदायिक वनकी उपभोक्ता मधुदेवी चौधरी पनि दङदास हुनुहुन्छ । “दाउराको जोहो गर्ने दिन गए । अब दाउरा खोज्ने समय अन्य काममा सदुपयोग गर्छु ”, उहाँले भन्नुभयो, “ सिलिण्डरसँगै सँगै चुल्हो पनि पाएपछि हामी खुसी छौँ ।”

उपभोक्ता सुनिता चौधरीलाई यस वर्ष वर्षात्को समयमा हुने चिन्ता हटेको छ । दाउरामै खाना पकाउनुपर्ने बाध्यतामा रहेकी सुनिताले वर्षातको समयमा दाउरा पानीले भिजेको हुने हुँदा खाना पकाउन निकै दुःख हुने गरेको बताउनुभयो । “दाउरा ओभानोमा राख्ने ठाउँ छैन । आँगनमा राखेका दाउरा राम्रोसँग बल्दैनन्”, उहाँ भन्नुहुन्छ, “अब त्यो पीडा फर्केर आउने छैन । घरमा ग्यास भएपछि खाना पकाउन सहज भएको छ ।”

विपन्न परिवारका आशाराम चौधरी सामुदायिक वनले ग्यास चुल्हो उपलब्ध गराउँदा आगामी दिनमा समयको बचत हुने बताउनुहुन्छ । उहाँले दाउरा खोज्ने समय उत्पादनका क्षेत्रमा सदुपयोग गर्न सकिने बताउनुभयो । “एक जना दाउराको खोजीमा हिँड्नुपथ्र्यो । त्यति मात्र नभई खाना पकाउन पनि एक जनाको दैनिकी बन्दै आएको थियो”, उहाँले भन्नुभयो, “अब खाना पकाउन कसैलाई जिम्मा दिएर राख्नुपर्ने छैन । जतिबेला पनि खाना पकाएर खान सकिने भएको छ ।”

वनको आम्दानीबाट १८० परिवारलाई प्रतिपरिवार रु आठ हजारका दरले ग्यास चुल्हो वितरण गरिएको वनका अध्यक्ष राजकुमार चौधरीले जानकारी दिनुभयो । “बर्सेनि उपभोक्तालाई दाउरा उपलब्ध गराउनुपर्ने हुन्थ्यो । उहाँहरूको मागअनुसार दाउरा उपलब्ध नहुँदा झन् जङ्गल बढी मासिन थाल्यो”, उहाँले भन्नुभयो, “अब अधिकांश विपन्न परिवारले ग्यास चुल्हो पाएका छन् । जङ्गल जोगिने आशा छ ।”
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update