
रे समाचार/काठमाडौं । यो वर्षको अन्तिम कारोबार दिन आज शेयर बजारमा सामान्य गिरावट आएको छ । गत साताको अन्तिम कारोबार दिन सामान्य अंक घटेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
आज नेप्से परिसूचक ८.६२ अंक घटेर २६६२.०८ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । गत साताको अन्तिम कारोबार दिन साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब २८ करोड २ लाख ९६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । दोस्रो बजारमा कारोबारमा आएदेखि यी कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ ।
आज त्रिशूली जलविद्युत् कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । तीन स्टकको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंक र बाराही हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
कारोबार रकमका आधारमा आज सिईडिबी होल्डिङ्गस शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४५ करोड ३२ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे ४४ करोडको शेयर कारोबार भएको छ भने राधी विद्युत् कम्पनीको करिब ४४ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । लगानी उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशतले वृद्धि भएको छ ।