RayNewsDaily
राष्ट्रपति ट्रम्पको ‘कुलीनतन्त्रविरुद्ध लड्ने’ अमेरिकी सिनेटर वर्नी स्यान्डर्सको घोषणा        
८३ वर्षीय अमेरिकी सिनेटर वर्नी स्यान्डर्स । फाइल फोटो

लस एन्जलस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करनीतिले अमेरिका लगायत विश्वको अर्थतन्त्रलाई तहसनहस पार्न लागेको भन्दै राष्ट्रपति ट्रम्पको ‘कुलीनतन्त्रविरुद्ध लड्ने’ ८३ वर्षीय अमेरिकी सिनेटर वर्नी स्यान्डर्सले बताउनुभएको छ ।     
ट्रम्पका सबैभन्दा मुखर विरोधीका रूपमा बर्नी स्यान्डर्सले ट्रम्पको विरोधमा दशौं हजार मानिसलाई सम्बोधन गर्दै भन्नुभयो, “हामी अब अमेरिकी ‘कुलीनतन्त्रविरुद्ध लड्नुको’ विकल्प छैन ।”     
     
स्यान्डर्स र डेमोक्र्याट प्रतिनिधि अलेक्जेन्ड्रिया ओकासियो-कोर्टेजको भाषणअघि शनिबार लस एन्जलसस्थित ग्लोरिया मोलिना ग्रान्ड पार्कमा राजनीतिज्ञ, सङ्घका प्रतिनिधि र साङ्गीतिक कार्यक्रमसहित अतिथिहरू मञ्चमा उपस्थित देखिएका थिए ।     
     
स्यान्डर्सले उत्साहित भीडलाई भन्नुभयो, “हजारौँको सङ्ख्यामा यहाँ भएको तपाईंको उपस्थितिले डोनाल्ड ट्रम्प र एलन मस्कलाई धेरै चिन्तित बनाइरहेको छ।”     
     
डेमोक्र्याटिक पार्टीको सदस्य कहिल्यै नरहेका स्वघोषित समाजवादी नेताले विगत दुई महिनादेखि ’कुलीनतन्त्रविरुद्ध लड्ने’ आफ्नो राष्ट्रव्यापी यात्रामा भीडलाई आकर्षित गर्दै आउनुभएको छ ।     
     
उहाँको प्रगतिशील, बामपन्थी बयानबाजी ट्रम्पको नीतिको विरोध गर्ने र स्थापित डेमोक्र्याटहरूको ट्रम्पविरुद्धको राजनीतिक प्रतिरोधको अभावमा निराश भएकाहरूको आवाजलाई प्रतिध्वनित गरेको छ।     
     
अमेरिकी ‘फल्क रक’ का नील यङले शनिबार लसएन्जलसको भीडलाई साङ्गितक सम्बोधन गर्दै इलेक्ट्रिक गितार बजाएर ‘टेक अमेरिका ब्याक! को नारा लगाउनुभएको थियो ।     
     
नारीवादी गायिका तथा गीतकार म्यागी रोजर्सले क्यालिफोर्नियाको मरुभूमिमा आयोजना हुने विशाल कोचेला सङ्गीत महोत्सवलाई सङ्केत गर्दै यस कार्यक्रमलाई ‘बर्नीचेला’ भन्नुभयो ।     
     
२८ वर्षीय कला शिक्षक एलेक्स पावेलले अमेरिकीहरूलाई आशाको खाँचो रहेको बताउनुभयो ।     
     
“म डेमोक्र्याटहरूको प्रतिक्रियाबाट वास्तवमै निराश छु, म उनीहरूको तर्फबाट थप कारबाही चाहन्छु, थप आक्रोश (प्रतिक्रिया) चाहन्छु,” उहाँले एएफपीसँग भन्नुभयो ।     
     
मनोवैज्ञानिक आघात     
     
“डोनाल्ड ट्रम्पको नयाँ कार्यकाल कष्टप्रद छ, यो वास्तवमै डरलाग्दो छ,” पावेलले ट्रम्पको आप्रवासी विरोधी अभियानअन्तर्गत आफ्ना एक अभिभावकलाई अमेरिकाबाट निर्वासित गरिएपछि उहाँका केही माध्यमिक विद्यालयका विद्यार्थीहरू कसरी ‘आघातमा’ परेका थिए भन्ने वर्णन गर्दै भन्नुभयो ।     
     
ट्रम्पले सरकारी अनुदानमा व्यापक कटौती गरेको र स्वास्थ्य सेवा र अनुसन्धानका लागि खतरासहित धेरै गुनासाहरू समर्थकमाझ राख्नुभएको थियो ।     
     
टेस्ला र एक्सका मालिक एलन मस्कको उल्लेख गर्दा भीड उत्साहित भएको थियो ।     
     
दक्षिण अफ्रिकी अर्बपतिलाई ट्रम्पले नाटकीय रूपमा सरकारी खर्च घटाउने जिम्मा दिनुभएको छ जसलाई स्यान्डर्सका समर्थकहरूले राजनीतिमा सम्पत्तिको भ्रष्ट प्रभावको प्रतीक मान्छन् ।     
     
कार्यक्रमका एक सहभागी २७ वर्षीया भेरा लोहले एएफपीसँग भन्नुभयो, “स्यान्डर्स आफ्नो जीवनभर नमूना समाजवादी नेता रहनुभयो । ‘पूरै समय’ सही हुनुहुन्थ्यो । अमेरिकालाई पैसा र राजनीतिको साँठगाँठले भयानक प्रभाव पारेको छ।”     
     
गत नोभेम्बरमा राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेपछि डेमोक्र्याट पार्टीका धेरै नेताको उदासीनतादेखेर आफू स्तब्ध भएको लोहले बताउनुभयो ।     
     
लोहले भन्नुभयो, “पार्टीले अल्पसङ्ख्यकमाथि धेरै ध्यान दिएको छ । यदि मानिसहरूले यसलाई वर्ग युद्धको रूपमा हेरेनन् भने हामी पहिचानको राजनीतिबाट हराउँछौँ ।”     
     
एएफपीसँग कुरा गर्दै लोहले भन्नुभयो, “हामी उच्च तलब चाहन्छौं, हामी आवास चाहन्छाँैं, हामी सामान किन्न सक्षम हुन चाहन्छौँ ।”     
     
‘अधिनायकवादी समाज’   
     
“हामी यस्तो क्षणमा बाँचिरहेका छौं, जहाँ मुट्ठीभर अर्बपतिहरूले हाम्रो देशको आर्थिक र राजनीतिक जीवनलाई नियन्त्रण गर्छन्,” स्यान्डर्सले शनिबार भन्नुभयो ।     
     
ट्रम्पले अमेरिकालाई ‘समाजको अधिनायकवादी रूपतर्फ द्रूत गतिमा अघि बढाइरहेका छन्,” उहाँले भन्नुभयो ।     
     
भर्मोन्टका सिनेटर स्यान्डर्सले डेमोक्र्याटिक लेबलबिना नै नयाँ स्वतन्त्र उम्मेदवारलाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रोत्साहित गर्ने विश्वास गर्नुभयो ।     
     
सन् २०२८ मा हुने राष्ट्रपतीय चुनावमा भाग लिने स्यान्डर्सको कुनै महत्वाकाङ्क्षा छैन, तर उहाँले उदीयमान प्रगतिशील अलेक्जेन्ड्रिया ओकासियो-कोर्टेजलाई आफ्नो पक्षमा पार्नुभएको छ ।     
     
“तपाईंको जाति, धर्म, लिङ्ग, पहिचान वा स्थिति जस्तोसुकै भएपनि, तपाईं केही कुरामा मसँग असहमत हुनुहुन्छ भने पनि मलाई आशा छ यो आन्दोलन पक्षपातपूर्ण लेबल वा शुद्धता परीक्षणको बारेमा होइन, तर यो वर्ग एकताको बारेमा हो,” ३५ वर्षीया सिनेटर कोर्टेजले शनिबार सभामा भन्नुभयो ।     
     
पूर्व रिपब्लिकन समर्थक लेस्ली हेन्डरसनले एएफपीसँग भन्नुभयो, “उहाँ राष्ट्रपतिपदका लागि राम्रो उम्मेदवार बन्नुहुनेछ ।”     
जनवरीदेखिको यो वातावरणले निराश भएकी ५२ वर्षीया नर्सिङ असिस्टेन्ट हेन्डरसन आफ्नो पतिसँग आफ्नो जीवनको पहिलो राजनीतिक र््यालीमा सहभागी हुनुभएको थियो ।     
     
“मलाई आशा छ कि यो धेरै ढिलो हुने छैन”, उहाँले भन्नुभयो, “ट्रम्पले असंवैधानिक तेस्रो कार्यकालको शासन गर्ने कुराबाट अमेरिकीहरू आत्तिएका छन्।”     
     
“यदि अहिले कोही पनि उठेर केही भनेन भने मध्यावधि वा अर्को राष्ट्रपतीय चुनाव पनि हुन सक्छ । यो सोच्न हामीलाई के बाध्य पारिएको छैन?”  एएफपी 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update