रे समाचार/काठमाडौं । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको शेयर बजारले आज पनि सोही क्रमलाई निरन्तरता दिएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २६.४९ अंकले बढेर २७२२.७३ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि वृद्धि भएको छ । हिजो ७ अर्ब २६ करोडको शेयर खरिदबिक्री भएकोमा आज १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट र सुपर मादी हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १ अर्ब ५८ करोड २५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे ६२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको करिब ५० करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एउटा उपसमूहको परिसूचक घटेको छ । लगानी उपसमूहको परिसूचक आज सर्वाधिक २.९९ प्रतिशतले वृद्धि भएको छ ।