RayNewsDaily
सात दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट        

सिद्धराज राई र नारायणकुमार राई/धनकुटा । राणाकालीन शासन व्यवस्थाको प्रशासनिक विरासत बोकेको सहर धनकुटालाई अनेक मिथक, कथा र तथ्यले परिचय दिन्छ । प्रशासनिक केन्द्र भएकाले उ बेला गुल्जार भनिएको धनकुटा मुलुकमा व्यवस्था परिवर्तन हुनेक्रमसँगै बेहुली अन्माएको घरजस्तै बिरसिलो बन्दै गएको स्थानीयको अनुभूति सुनिन्छ ।     
     
धनकुटाको विगतको त्यो विरासत र गर्विलो इतिहास अहिले नदेखिए पनि धनकुटा बजारको एकछेउमा रहेको सात दशकअघि खुलेको बिस्कुट उद्योगले भने पुराना दिनहरुलाई सम्झाउन छाडेको छैन । धनकुटाको जीवित इतिहासका रुपमा रहेको मोहन बिस्कुट उद्योगले ७३ वर्ष पहिलेदेखि अनवरतरुपमा उपभोक्तालाई स्थानीय स्वाद चखाउँदै आएको छ । यहाँको धनकुटे नरिवल बिस्कुटले जिल्लाको पहिचान स्थापना गर्ने मात्र होइन, यसको मौलिक स्वादले धेरैको मुख रसिलो बनाउँदै आएको छ ।     
     
प्रशासनिक काममा धनकुटा आउने धेरै सरकारी कर्मचारी र सेवाग्राहीले चिया पिउँदा होस् वा घर फर्किंदा लैजाने कोसेलीको रुपमा धनकुटे नरिवल बिस्कुट पहिलो रोजाइमा पर्छ । रैथाने खाद्यवस्तु भएकाले धनकुटा बजार पुग्ने जो कोही आगन्तुकले घर फर्कंदा कोसेली स्वरुप धनकुटे नरिवल बिस्कुट खरिद गर्न भुल्दैनन् ।     
     
लोकसेवा आयोगको परीक्षा दिन धनकुटा पुग्नुभएकी एक युवती बसपार्कमा बिस्कुट किन्दै गरेको भेटिनुभयो । बिस्कुट झोलामा हाल्दै उहाँले भन्नुभयो, “जतिपटक धनकुटा आएको छु, उतिनै पटक धनकुटे नरिवल बिस्कुट कोसेली लिएर गएकी छु । अन्य बिस्कुटभन्दा यसको स्वाद बेग्लै छ । स्थानीय उत्पादन भएकाले परिवार र साथीहरुले पनि खुब मन पराउँछन् । सबैले रुचाउने भएकाले यता आउँदा किनेर लैजान्छु ।”     
     
भारतको जोगवनीबाट सुरु हुने कोशी राजमार्ग धनकुटा बजार छिचोल्दै सङ्खुवासभाको किमाथाङ्कासम्म पुग्छ । यो राजमार्गमा दैनिक हजारौँ गाडी गुड्छन् । ती गाडीको एउटा स्टेसन हो, धनकुटा बसपार्क । ती गाडीमा यात्रा गर्ने यात्रुहरुको रोजाइ पनि धनकुटे नरिवल बिस्कुट पर्ने गर्छ । धनकुटा बसपार्कका सबैजसो पसलमा विभिन्न किसिमका धनकुटे बिस्कुट राखिएको हुन्छ । बसपार्कमा एकछिन गाडी रोकिएको बेलामा पनि यात्रुहरुको आँखा धनकुटे बिस्कुटमै पर्छ । आफन्त भेटघाटमा पनि सबैभन्दा सजिलो कोसेली भएकाले यात्रुहरुले किन्ने गरेको धनकुटा बसपार्कमा रहेको पाथीभरा होटलका सञ्चालक दुर्गा राईले बताउनुभयो । उहाँले पनि होटलको बाहिर सोकेसमा चियासँग बिस्कुट खाने ग्राहकलाई खुवाउन र बाहिरका ग्राहकलाई बिक्री गर्न धनकुटे बिस्कुट राख्नुभएको छ ।     
     
होटल, किराना र नाङ्ले पसलमा धनकुटे नरिवल बिस्कुट बिक्रीका लागि राखिएको हुन्छ । यसैबाट थाहा हुन्छ, धनकुटे नरिवल बिस्कुटको स्थानीय महत्व र बजारमा माग कति धेरै हुन्छ भन्ने। घरेलु प्रविधिबाट बन्ने धनकुटे नरिवल बिस्कुट कोसेली लैजान वा खाजाको रुपमा सबैको रोजाइमा पर्छ । धनकुटा सदरमुकामका ठूला बजारमा मात्र नभई गाउँका स–साना चिया पसलमा समेत यो बिस्कुटले स्थानीय ‘ब्रान्ड’को पहिचान बनाएको छ ।     
     
सदरमुकामस्थित मदनचोकमा रहेको कञ्चनजङ्घा होटलका सञ्चालक गोरख कटुवालको भनाइमा होटलमा आउने आगन्तुकले चियासँगै धनकुटे नरिवल बिस्कुट अनिवार्य रूपमा खोज्छन् । होटलमा बसिञ्जेल नियमित खाजाको रुपमा खान्छन् । अनि घर फर्किंदा कोसेलीको रुपमा किनेर लैजान्छन् । त्यसैले होटलमा अन्य खाद्य र पेय वस्तुसँगै धनकुटे नरिवल बिस्कुट राख्ने गरेको होटल सञ्चालक कटुवालले बताउनुभयो । “प्याकेजिङ हेर्दा खासै राम्रो र लोभलाग्दो देखिँदैन । खै के सारो मन पराएका हुन् । स्वाद मानीमानी खान्छन्”, कटुवालले सुनाउनुभयो ।     
     
विसं २००८ मा धनकुटा-४ निवासी स्व विश्वेश्वरमान श्रेष्ठले धनकुटे बिस्कुट बनाउन थाल्नुभएको हो । लामो अनुभवपछि स्व श्रेष्ठले नै २०३० सालमा घरेलु उद्योगमा मोहन बिस्कुट उद्योग दर्ता गराउनुभएको थियो । यो उद्योग अहिले पनि सञ्चालन भइरहेको छ । उहाँका छोरा मोहन श्रेष्ठले बुबाले थालनी गरेको धनकुटे नरिवल बिस्कुटको विरासतलाई निरन्तरता दिँदै आउनु भएको छ ।     
     
पहिले धनकुटामा एउटा मात्र मोहन बिस्कुट उद्योग भएकाले सुरुमा थोरै उत्पादन हुन्थ्यो । बजार पनि सानै थियो । तर बिस्कुट उद्योगमा काम सिकेका कामदारले आफैँ उद्योग खोल्न थालेपछि अहिले उद्योगहरु बढेका छन् । उत्पादन बढेको छ र धनकुटे नरिवल बिस्कुटको बजार पनि फैलिँदै गएको छ । धनकुटा नरिवल बिस्कुट धनकुटा बजारसँगै भेडेटार, मूलघाट, हिले, सिधुवा, पाख्रीबासलगायत धनकुटाका बजारमा सहजै खरीद गर्न सकिन्छ ।     
     
धनकुटा नरिवल बिस्कुटसँगै यहाँका उद्योगहरुले अहिले कोको, कुकिज, खास्ता, बदाम, डुनोट, फुलकेक, केकजस्ता १७ प्रकारका बिस्कुट उत्पादन गरिरहेका छन् । अहिले धनकुटाका विभिन्न स्थानमा बिस्कुट उत्पादन गर्ने एक दर्जनभन्दा बढी उद्योग सञ्चालनमा छन् । बजारमा यसको माग बढेसँगै उद्योग खुल्नेक्रम पनि झाँगिएको हो। सुरुवाती दिनमा मोहन बिस्कुट मात्रै सञ्चालनमा थियो । अहिले धनकुटा सदरमुकामसहित आँखिसल्ला, पाख्रिवास, हिले, मौनावुधुक, जीतपुर, पात्लेखोलालगायत स्थानमा बिस्कुट उद्योग सञ्चालनमा छन् । यी उद्योगहरुले नरिवल बिस्कुट, केक, पाउरोटीलगायत अन्य उत्पादन गरी वार्षिक रु एक करोडभन्दा बढीको बिस्कुट उत्पादन गरिरहेको अनुमान छ । करिब एक सय जनाभन्दा बढीलाई प्रत्यक्ष रूपमा रोजगारी मिलेको छ ।     
     
धनकुटे नरिवल बिस्कुटको इतिहास     
     
विसं २००८ मा धनकुटा-४ देब्रेवासमा मोहन श्रेष्ठका बाबु स्व विश्वेश्वरमान श्रेष्ठले चिया पसल सञ्चालन गर्नुहुन्थ्यो । त्यो बेला पहाडबाट मधेस झर्ने र मधेसबाट पहाड उक्लने मान्छेहरुको मुलबाटो धनकुटा बजार थियो । ती मान्छेहरुको बास बस्ने थलोको रुपमा धनकुटा बजारको देब्रेबास नामी थियो । त्यही ठाउँमा खुलेको चियापसल पहाडी भेगको पहिलो र राम्रो मानिन्थ्यो।     
     
चिया पिउने ग्राहकको मागअनुसार स्व श्रेष्ठले भारतबाट ल्याइएका बिस्कुट बेच्नु हुन्थ्यो रे । त्यतिबेला रु एकको २० वटा बिस्कुट ल्याएर एकआना गोटा बेच्दा चियाको व्यापार पनि बढ्यो रे । चिया खान आउने मान्छेले बिस्कुटका कुरा गर्थे। कतिपयले आफैँ बनाउनु पनि भन्थे रे, छोरा मोहनले बताउनुभयो । “चिया खान आउने मान्छेको कुरा सुनेर बुबाले पनि बिस्कुट बनाउन कोसिस गर्नुभयो । एक पावा मैदाको बिस्कुट आफ्नै पाराले दिनहुँ बनाउँदै सिक्न थाल्नुभयो । बिस्कुट बनाइसकेपछि आफैँले चिया पिउन आउने मान्छेलाई चखाउनुभयो रे । आफैँ चाख्दै र चखाउँदै गर्दा पहिले यो बिस्कुट धेरैले मन पराएनन् । तर, बुबाले हार नमानी हरेक दिनजसो भिन्नभिन्न तरिकाले बिस्कुट बनाउनेक्रममा एकदिन बिस्कुट बनाउँदा प्रयोग गरिने सबै वस्तु हालेर मुछेको पिठोबाट बनाएको बिस्कुट बनाउँदा फुल्यो । चिया खान आउने सबैलाई चखाउँदा मिठो मानेर तारिफ गरेपछि त्यही विधिलाई निरन्तरता दिएर बिस्कुट उत्पादन गर्न थालेको कथा बुबाले सुनाएको मोहनले बताउनुभयो ।     
     
स्थानीय स्रोतसाधनलाई सदुपयोग गर्दै बिस्कुट पोल्ने भट्टी निर्माण गरी बिस्कुट उत्पादन सुरु गर्ने पहिलो व्यक्ति स्व विश्वेश्वरमान श्रेष्ठ बन्नुभएको थियो ।     
     
विसं २००८ देखि बिस्कुट उत्पादनको परीक्षण सुरु भए पनि २०३० सालमा घरेलु उद्योगका रूपमा दर्ता गरी औपचारिक रूपमा मोहन बिस्कुट उद्योग सुरु भएको हो । त्यो बेला बुबाले ३३ हजार लगानीमा थालेको उद्योगमा अहिले २० लाखभन्दा बढी लगानी रहेको मोहनले बताउनुभयो । २०११ सालमा पाँच किलो मैदाबाट सुरू भएको मोहन बिस्कुट उद्योगले अहिले अर्डरअनुसारको बिस्कुट पु¥याउन मुस्किल पर्ने गरेको छ ।     
     
मोहन आफैँ पनि कुनै बेला राम्रो गैरसरकारी संस्थामा जागिरे हुनुहुन्थ्यो । तर बुबाले थालनी गरेको उद्योगको विरासत जोगाउन र स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्नका लागि बुबाकै सल्लाहमा उद्योग सम्हाल्न २०५२ सालमा धनकुटा फर्किएको बताउनुभयो । उहाँलाई आफ्ना बुबाले मेहनत गरेर सञ्चालनमा ल्याउनुभएको व्यवसायभन्दा जागिर ठूलो लागेन । “एक्लै रोजगार हुनुभन्दा आफ्नो व्यवसायबाट अरुका लागि रोजगार सिर्जना गर्नु उचित ठानेर धनकुटा फर्किएँ । २०६५ सालमा बुबाको देहावसान भएपछि उद्योगको सिँगो जिम्मेवारी आफू र श्रीमती निमा श्रेष्ठले सम्हाल्दै आएका छौँ”, उहाँले बताउनुभयो ।     
     
कसरी बन्छ नरिवल बिस्कुट ?     
     
धनकुटे नरिवल बिस्कुट घरेलु प्रविधिबाट बनाइन्छ । काँचो इँटा, माटो र चिमबाट निर्मित भट्टीमा पोलेर बिस्कुट तयार पारिन्छ । सञ्चालक श्रेष्ठको भनाइअनुसार माटोको भट्टीभित्र दाउरा बालिन्छ । सो दाउरा जलेर बनेको कोइलामा बिस्कुट तताइन्छ र बिस्कुट पाक्छ । नरिवल बिस्कुटमा स्थानीयस्तरमै पाइने दूध, घ्यू र मैदाको प्रयोग गरिन्छ । घरेलु प्रविधिबाट नै बिस्कुट उत्पादन हुने भएकाले जनशक्ति धेरै नै चाहिन्छ । “बिस्कुट उत्पादनमा मेसिनको प्रयोग गरिँदैन । मैदा मुछ्नेदेखि भट्टीमा बिस्कुट पोल्ने र प्याकेजिङसम्मको सबै काम हातबाटै हुन्छ”, मोहनले बताउनुभयो । यो एक किसिमको परम्परागत प्रविधि पनि हो ।     
     
बिस्कुट बनाउने पर्याप्त जनशक्ति नहुँदा बिस्कुट उद्योगले मागअनुसार उत्पादन र बजार विस्तार गर्न नसकेको मोहनको भनाइ छ । कामको खोजीमा युवा विदेश पलायन हुन थालेपछि दक्षजनशक्तिको अभाव भएको छ ।     
     
धनकुटा-६ पात्लेमा रहेको ओम बिस्कुट उद्योगका सञ्चालक टीकाराम कटुवालको भनाइअनुसार पनि जनशक्तिबाहेक दाउराको समस्या पनि धेरै छ । घरेलु प्रविधिबाट बिस्कुट उत्पादन हुने भएकाले अनिवार्य दाउराको आवश्यकता पर्छ । दाउरा जहीँतहीँ नपाइने र टाढाबाट ल्याउँदा लागत बढ्ने भएको बिस्कुटको मूल्य बढेको उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update