RayNewsDaily
युक्रेन युद्धविरामबारे अमेरिकाले केही दिनभित्रै निर्णय गर्ने रुबियोको भनाइ        

पेरिस । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युरोपेली अधिकारीहरूसँगको बैठकपछि पेरिसबाट बाहिरिने क्रममा वासिङ्टनले युक्रेन युद्धविराम सम्भव छ कि छैन भनेर चाँडै निर्णय गर्नुपर्ने बताउनु भएको छ ।     
     
उहाँले बोर्गेट विमानस्थलमा पत्रकारहरूसँग भन्नुभयो, “हामीले अब केही दिनभित्रै यो काम गर्न सकिन्छ कि सकिँदैन मुल्याङ्कन गर्नु आवश्यक छ, किनभने यदि त्यसो भएन भने मलाई लाग्छ कि हामी अन्य योजनाका साथ अगाडि बढ्नेछौँ ।”     
“यदि युद्धविराम सम्भव भएन भने हामीले ध्यान दिनुपर्ने अन्य प्राथमिकताहरू पनि छन्।”     
     
विदेशमन्त्री रूबियोले भन्नुभयो, “अमेरिकाले विगत तीन वर्षदेखि युक्रेनलाई सहयोग गरिरहेको छ र हामी यसको अन्त्य चाहन्छौं, तर यो हाम्रो युद्ध होइन ।”     
     
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्तापछि शान्ति वार्ता सुरु गर्न सहमत भएपछि किएभ र युरोपेली सहयोगीहरूलाई वेवास्ता गरेका छन् भने युरोपेली शक्तिहरू वार्तामा बस्न चाहिरहेका छन् ।     
युद्ध अन्त्यका लागि ट्रम्पको प्रयास असफल भएको छ र पुटिनले पूर्ण युद्धविरामको खण्डन गर्नुभएको छ ।     
     
रुबियोले युरोपेली अधिकारीहरूले बिहीबार भएको वार्तामा ‘आफ्ना विचारहरूमा निकै सहयोगी र रचनात्मक’ बनेको बताउनु भएको छ ।     
     
“हामी चाहन्छौँ उनीहरूले वार्तामा समन्वयकारी भूमिका खेल्नेछन् । मेरो विचारमा बेलायत, फ्रान्स र जर्मनीले हामीलाई वार्ता अघि बढाउन मद्दत गर्न सक्छन् र त्यसपछि यसलाई समाधानको नजिक पु¥याउन सकिन्छ्,” उहाँले भन्नुभयो ।     
     
सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि रुसले लगाएको प्रतिबन्ध फुकुवा गर्न युरोपेली मुलुकहरूले विचार गर्ने पनि आफूले आशा व्यक्त गरेको उहाँले बताउनुभयो ।     
     
उहाँले भन्नुभयो, “रुसविरुद्धको प्रतिबन्धको एउटा हिस्सा र यदि यो सम्झौताको भाग हो भने तीमध्ये धेरै युरोपेली प्रतिबन्धहरू हुन् जसलाई हामी हटाउन सक्दैनौं।”     
     
युरोपेली मुलुकहरूले गत महिना रुसमाथिको प्रतिबन्ध फुकुवा गर्नुको साटो बढाउने सहमति गरेका थिए । एएफपी 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update