
रे समाचार/काठमाडौं । शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । पछिल्ला तीन कारोबार दिनेदखि घटिरहेको शेयर बजार मापक नेप्से परिसूचक आज ३२.३८ अंक घटेर २६५५.९४ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ३२ करोडको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने साढे ४ प्रतिशतभन्दा कम रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य आज सर्वाधिक ९.०६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५८ करोड १९ लाख ८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे ५१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुप पावरको करिब ४१ करोडको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज म्युचुअल फण्ड र उत्पादन तथा प्रशोधन उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ ।