RayNewsDaily
एमसीसी बन्द : विश्व राजनीतिमा अमेरिका रक्षात्मक अवस्थामा पुग्न लागेको संकेत

रमेश हतुवाली/विराटनगर । बहुचर्चित अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) बन्द हुने समाचार सार्वजनिक भएलगत्तै सम्बन्धित क्षेत्रका विज्ञहरुले विश्व राजनीतिमा अमेरिका रक्षात्मक अवस्थामा पुग्न लागेको संकेत गरेका छन् । 

नेपाल लगायतका विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने सो संस्थालाई एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज) ले बन्द गर्ने निर्णय गरेसँगै विज्ञहरुका भनाई आउन थालेका हुन् । निक्कै ठूलो विवाद र अमेरिकी दबाबपछि नेपालको संसदले पास गरेको एमसीसी परियोजना अन्तर्गत नेपालमा सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको खर्च कटौती नीति अन्तर्गत एमसीसी परियोजना बन्द हुने निर्णय कार्यान्वयन भए नेपालमा सञ्चालित परियोजना अन्तर्गतका काम समेत रोकिने भएका छन् ।

नेपालमा एमसिसी अन्तर्गतको ५०० मिलियन डलरको अनुदान परियोजना, जसमा ४०० केभी विद्युत् प्रसारण लाइन र सडक सुधार कार्यहरू समावेश छन् । परियोजना बन्द गर्ने निर्णयसँगै एमसीसीका करिब ३०० जना कर्मचारीलाई अप्रिल २९ भित्र स्वैच्छिक अवकाश, सेप्टेम्बरसम्म तलबसहितको राजीनामा वा प्रशासनिक बिदाको विकल्प रोज्न भनिएको सीएनएनले जनाएको छ । 

एमसीसी बन्द गर्ने अमेरिकी निर्णयबारे अहिलेसम्म नेपाल सरकारको धारणा सार्वजनिक भएको छैन । तर केही कानूनविद् र परराष्ट्रमामिलाका विज्ञहरुले भने विभिन्न प्रतिक्रिया दिएका छन् । 

वरिष्ठ अधिवक्ता तथा संविधान सभाका सदस्य एकराज भण्डारीले रे टेलिभिजनसँग कुराकानी गर्नुहुँदै एमसीसी परियोजना बन्द गर्ने अमेरिकी निर्णयले अमेरिका अब विश्व राजनीतिमा रक्षात्मक अवस्थामा पुग्न लागेको संकेत गरेको बताउनुभयो । एमसीसी नेपालको संविधान र कानून विपरीत भएको हु्नाले पनि नेपाली जनताले स्वीकार नगरेको भण्डारीको धारणा छ ।

चीनका लागि पूर्व नेपाली राजदूत टंक प्रसाद कार्की अमेरिकी सरकार आन्तरिक स्रोत र साधन प्रयोग गरेर देशलाई वलियो बनाउने रणनीतिमा लागेको बताउनुभयो । कार्कीले विश्व शक्तिराष्ट्र बन्ने होडबाट पछि हट्ने उद्धेश्यले अमेरिकाले एमसीसी बन्द गर्ने निर्णय लिएको हुनसक्ने बताउनुहुन्छ । एससीसी बन्द गर्ने निर्णय अमेरिकाले विगतमा गरेका गल्तिहरु हटाउँदै जाने उद्धेश्यसँग पनि जोडिएको हुनसक्ने कार्कीको भनाई छ । 

नेकपा एमालेका उपाध्यक्ष गुरु प्रसाद बरालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका सल्लाहकारहरु व्यापारी भएको हुनाले तत्कालिन नाफा र घाटालाई विचार गरी एमसीसीलाई पनि विवादमा ल्याएको प्रतिक्रिया दिनुभयो । एमसीसी परियोजना बन्द हुँदा पनि नेपाललाई खासै प्रभाव नपर्ने बरालको भनाइ छ । 

वरिष्ठ लेखक तथा कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ एमसीसी बन्द गर्ने अमेरिकी नीतिलाई मुलुकको हितमा आफूलाई केन्द्रित गर्ने उद्धेश्यले ट्रम्प प्रशासनले निर्णय गरेको बताउनुभयो । अब आफ्नो देशलाई संरक्षण नगर्ने हो भने अमेरिकी सरकारले ठूलो क्षती व्यहोर्नुपर्ने राष्ट्रपति ट्रम्पको मनसाय पनि यस निर्णयसँग जोडिएको श्रेष्ठको धारणा रहेको छ । 

 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update