RayNewsDaily
उदाहरणीय बन्दै सुरौदी तिखेढुङ्गामा खरबुजाखेती    

गण्डकी । पोखरा महानगरपालिका-३३ सुरौदी खोला किनाराको तिखेढुङ्गाको करिब ३५ रोपनी जग्गामा यतिखेर लटरम्म खरबुजा फलेका देखिन्छन् । विगतमा तराई र भारतबाट बजारमा ल्याइएका खरबुजा देखेका स्थानीय आफ्नै घरखेत वरपर खरबुजा फलेको देख्दा दङ्ग छन् ।     
     
महानगरपालिका-२१ कृष्तीका ज्ञानबहादुर कार्की र पोखरा-३३ भरतपोखरीका रमेश आचार्यले यहाँ खरबुजा फलाउनुभएको हो । उहाँहरूले सरस्वती, रेड भेलरेट, फनेक्स, मान्ठाना र राजा जातका खरबुजा फलाउनुभएको छ । यहाँ उत्पादित खरबुजा अब केही दिनमा बजारमा ल्याउने तयारी छ ।     
     
विगत लामो समयदेखि खरबुजाखेतीमा अनुभव सँगालेका कार्की र व्यावसायिक कृषिमा लगाव भएका आचार्यको यो मेहनत पछिल्लो समय अरूका लागि पनि प्रेरणाको स्रोत बनेको छ । पोखरा क्षेत्रमा खरबुजाखेतीको निकै सम्भावना रहेको र दुईजना कृषकले त्यसलाई व्यावहारिक रूपमा प्रमाणित गरेको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाको भनाइ छ ।     
     
विगतमा १०/१२ रोपनी क्षेत्रफलमा मात्रै गरिएको खरबुजाखेती यस वर्ष करिब २०० रोपनी क्षेत्रमा विस्तार गरिएको बताउँदै बीउ तथा मलचिङमा महानगरले सहयोग गरेको जानकारी दिँदै उहाँले बीउ तथा मलचिङमा महानगरले सहयोग गरेको बताउनुभयो ।     
     
महानगरपालिका–१३, २३, ३०, ३२, ३३ मा यस खेतीतर्फ आकर्षण बढिरहेको महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो । “स्थानीय रूपमा उत्पादित खरबुजाको स्वाद पनि निकै मीठो छ । थोरै क्षेत्रफलमा पनि राम्रो उत्पादन लिन सकिने यो खेती आर्थिक समुन्नतिका लागि महत्वपूर्ण आधार बन्न सक्छ”, उहाँले भन्नुभयो ।     
     
महानगरपालिकाले पोखरामा उत्पादित सरस्वती जातको खरबुजाको ‘ब्रान्डिङ’ गर्न लागेको र त्यसको बजारीकरणका लागि ‘स्टिकर’ तयार पारिसकेको महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो ।     
     
नेपाली युवा रोजगारीको खोजीमा दिनानुदिन विदेसिरहेका बेला स्थानीय किसान आचार्य र कार्कीले भने आफ्नै देशमा केही गर्ने सोचका साथ काम गरिरहनुभएको छ । यस अवस्थामा उहाँहरूको प्रयास युवाहरूका लागि अनुकरणीय बनेको छ ।     
     
विगतमा करिब १४ वर्ष युरोपमा बिताउनुभएका कार्की छ वर्षयता आफ्नै ठाउँमा व्यावसायिक कृषिमा जुट्नुभएको छ । स्पेनलगायत देशमा कृषि क्षेत्रमा हासिल गरेको अनुभवलाई उहाँले हाल स्वदेशी माटोमा प्रयोग गरिहनुभएको छ ।     
     
कार्कीले कृषि क्षेत्रमा नै करिब ९०० मिटर उचाइमा रहेको स्थानमा खरबुजा फलाउनुभएको छ । यो नयाँ प्रयोग भएको उहाँले बताउनुभयो । व्यावसायिक कृषिमा नयाँ प्रयोग गर्दै उहाँले देखाएको सफलता सबैका लागि अनुकरणीय बनेको छ । कार्की अघिल्लो वर्ष राम्रो खरबुजा उत्पादक किसानका रूपमा पोखरा महानगरपालिकाबाट पुरस्कृतसमेत हुनुभएको थियो ।     
     
यस्तै, स्नातकसम्मको अध्ययन गर्नुभएका भरतपोखरीका आचार्य आफ्नो १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिकको अनुभव सँगाल्दै हाल व्यावसायिक कृषिमा रमाइरहनुभएको छ । तिखेढुङ्गा बागमारा पशुपालन तथा कृषि फर्म दर्ता गरी व्यावसायिक कृषिमा लागेका आचार्यले पोखरा महानगरपालिका-३३ स्थित सुरौदीखोला तिखेढुङ्गामा पशुपालनसँगै व्यावसायिक तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन गर्दै आउनुभएको छ ।     
     
तरकारी खेतीसँगै पशुपालनमा उहाँले देखाउनुभएको क्रियाशीलता पनि अन्यका लागि राम्रो उदाहरण बनेको छ । “युवाहरू आफ्नै देशमा केही गर्नुपर्छ भन्नेभन्दा विदेसिने लहरमा छन् । धेरैले उत्पादनको बजार नै छैन भनेर कुरा गर्छन् तर मेहनत गरेमा उत्पादन उत्पादित कृषिजन्य वस्तुको बजार समस्या छैन । रोजगारीका लागि विदेसिनुपर्ने अवस्था छैन”, आचार्यले भन्नुभयो । रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update