RayNewsDaily
वाह्य लगानी गर्दा आर्थिक भार अझ बढ्ने हुनाले एमसीसी बन्द भएको हो - वरिष्ठ अधिवक्ता भण्डारी

✍️ एकराज भण्डारी, वरिष्ठ अधिवक्ता तथा संविधान सभा सदस्य 

एमसीसी परियोजना बन्द गर्ने अमेरिकी निर्णयले अमेरिका अब विश्व राजनीतिमा रक्षात्मक अवस्थामा पुग्न लागेको संकेत गरेको छ । चीनसँग लामो समयदेखि कायम रहेको व्यापार विवाद, रुससँगको युद्धमा युक्रेनलाई साथ दिँदा भोग्नु परेको आर्थिक तथा राजनीतिक घाटा, गाजामा हमास र प्यालेस्टाइनमाथि गरिएको बर्बर आक्रमणमा इजरायलको साथ जस्ता विषयले अमेरिकाको प्रतिष्ठा मात्र होइन उसको आर्थिक हैसियत पनि कमजोर हुँदै गएको प्रस्ट हुन्छ ।

आफ्नो विश्व व्यापी प्रभाव चीन र भारत जस्ता उदयीमान नयाँ आर्थिक शक्ति र रुसको शक्ति बढेसँगै कमजोर हुँदै गएको हुनाले पनि अमेरिकाले एमसीसी परियोजना बन्द गर्न बाध्य भएको हो । बाह्य लगानी गर्दा मुलुकको आर्थिक भार अझ बढ्ने र जनआक्रोसलाई थेग्न पनि धौ धौ परिरहेको अवस्थालाई गम्भिर मुल्याङ्कन गर्दै अमेरिकाले यस्तो निर्णय लिनुपरेको कुरालाई बुझ्दा खासै फरक पर्दैन । 

अमेरिकाले नेपाल सरकार, नेपालका राजनीतिक दल र संसदमाथि बारम्वार दबाब सृजना गरेर एमसीसी परियोजना पास गर्न बाध्य बनाएको हो । नेपाली जनताले कहिल्यै पनि एमसीसी स्वीकार गरेका होइनन् । यो परियोजना जबरजस्ती अमेरिकाले थोपरेको हो । त्यसैले एमसीसी बन्द गर्ने अमेरिकी निर्णयले नेपालको जीत पनि भएको छ । 

एमसीसी नेपालको संविधान र कानून विपरीत भएको हु्नाले पनि नेपाली जनताले स्वीकार नगरेका हुन् । नेपालको वर्तमान सरकार र राजनीतिक दलहरु साम्राज्यवादी शक्तिका खेलौना भएका छन् जुन दुर्भाग्यपूर्ण छ । नेपालको संसदले पास गर्नै नपर्ने विषयलाई पनि पास गर्न अमेरिकाले बाध्य बनाएको हुनाले एमसीसी परियोजना नेपालमा सञ्चालन हुन गाह्रो थियो । त्यो बुझेर नै अमेरिकाले बन्द गर्ने निर्णय गरेको हुनसक्छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update