
रे समाचार/काठमाडौं । पछिल्ला दुई कारोबार दिन सामान्य अंकले वृद्धि भएको शेयर बजारमा आज गिरावट आएको छ ।
शेयर बजार मापक नेप्से परिसूचक आज १४.५३ अंकले घटेर २६४७.०७ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो १० अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार रूपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज पनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ७ प्रतिशतले वृद्धि भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सर्वाधिक ८.४५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७० करोड ७८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, राधी विद्युत् कम्पनीको ४५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको कारोबार रकम ३८ करोड नाघेको छ । १३ उपसमूहमध्ये आज २ वटा उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ ।