RayNewsDaily
शेयर बजारमा १५ अंकको गिरावट

रे समाचार/काठमाडौं । शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १५.०८ अंकले घटेर २६३१.९८ विन्दुमा झरेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ९ प्रतिशतले वृद्धि भएको छ भने राधी विद्युत् कम्पनीको शेयरमूल्य ७ प्रतिशतले बढेको छ । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य भने आज सर्वाधिक ९.८८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सानिमा माई हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८२ करोड ४३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, ङादी ग्रुप पावरको ६२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको करिब साढे ४६ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये यस दिन एउटा उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update