RayNewsDaily
शेयर बजारमा वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को अन्तिम कारोबार दिन आज शेयर बजार बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक १२.१६ अंक बढेर २०९७.०९ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज २८६ स्टकको ३९ हजार ३७ पटकको कारोबारमा २ अर्ब ३७ करोड ६४ लाख रुपैयाँ बराबरको ७१ लाख ८४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशत बढेको छ । बैंकिङ्ग उपसमूहको परिसूचक १.३३ प्रतिशत बढेको छ । अन्य ६ उपसमूहको परिसूचक सामान्य बढेको छ । वित्त, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक भने घटेको छ ।

आज ३ म्युचुअल फण्डको इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सनराइज फोकस्ड इक्विटी फण्ड, एनआईबिएल ग्रोथ फण्ड र सानिमा ग्रोथ फण्डको इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड, माछापुच्छ्रे बैंकको ऋणपत्र र ग्रामीण विकास लघुवित्तको मूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । लिबर्टी इनर्जीको शेयरमूल्य भने सर्वाधिक ५.९६ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १९ करोड १३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी हिमालयन लाइफ इन्स्योरेन्सको साढे १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update