RayNewsDaily
शेयर बजार लगातार तेस्रो दिन पनि वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार बढ्ने क्रम जारी रहेको छ । शेयर बजार मापक नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन आज पनि बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ९.९१ अंक बढेर २१५४.०७ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकममा पनि सुधार भएको छ ।

हिजो साढे २ अर्बको शेयर खरिदबिक्री भएको बजारमा आज २५५ स्टकको ५६ हाजर ४७६ पटकको कारोबारमा ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रुपैयाँ बराबरको ८६ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र युनाइटेड अजोड इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, शुभम् पावर र युनिलिभर नेपालको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । 

कारोबार रकमका आधारमा आज स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो लघुवित्तको २१ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट्सको करिब १८ करोडको शेयर कारोबार भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको साढे १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये आज ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५५ प्रतिशत बढेको छ । त्यस्तै, बैंकिङ्ग र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक आज १ प्रतिशतभन्दा धेरै बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक आज सर्वाधिक १.४५ प्रतिशत घटेको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update