काठमाडौं । चार दिनसम्म लगातार वृद्धि भएको शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन आज शेयर बजार मापक नेप्से १.३१ अंक घटेर २१६३.९२ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य घटेको छ । हिजो ३ अर्ब ३४ करोडको शेयर खरिदबिक्री भएकोमा आज २६४ स्टकको ५४ हजार ९५४ पटकको कारोबारमा ३ अर्ब ५ करोड २४ लाख १० हजार रुपैयाँ बराबरको ८४ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
नेप्से घटे पनि दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विशाल बजार कम्पनी र लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै, सोल्टी होटलको ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हिमालयन इन्स्योरेन्सको करिब ९ करोडको शेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये आज ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.३५ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.३९ प्रतिशत बढेको छ । म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।