काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिको शेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।मौद्रिक नीति सार्वजनिक गरेसँगै शेयर बजार मापक नेप्से बढ्न पुगेको हो । मौद्रिक नीति सार्वजनिक हुनुअघिसम्म २० अंक बढेको बजार सार्वजनिक भएपश्चात ४३ अंक बढेको छ ।
आज नेप्से परिसूचक समग्रमा ६३.२४ अंक बढेर २२२७.२४ विन्दुमा पुगेको छ । मौद्रिक नीतिले शेयर तथा घरजग्गा कर्जाको जोखिमभार पुनरावलोकन गर्ने व्यवस्था गरेसँगै बजार बढ्न पुगेको हो । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज २६६ स्टकको ७५ हजार ८६ पटकको कारोबारमा ४ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ बराबरको १ करोड २० लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । किसान लघुवित्त, चन्द्रागिरी हिल्स र लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, स्वरोजगार लघुवित्त, ग्लोबल आइएमई बैंक र कालिञ्चोक दर्शको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । एनआईबिएल ग्रोथ फण्डको इकाई भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १४ करोड ८१ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । ज्योति विकास बैंकको करिब १४ करोडको शेयर कारोबार भएको छ भने ग्लोबल आइएमई बैंकको १२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ४.९८ प्रतिशत बढेको छ । त्यसैगरी, विकास बैंक र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी वृद्धि भएको छ भने होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।