RayNewsDaily
मौद्रिक नीतिपछि शेयर बजार लगातार ओरालो

रे समाचार/काठमाढौं । मौद्रिक नीति आएपछि एक दिन बढेको शेयर बजार त्यसपछि निरनतर घट्न थालेको छ । शेयर बजार मापक नेप्से परिसूचक आज पनि घटेरै बन्द भएको छ । आज नेप्से परिसूचक ३६.१९ अंक घटेर २१६४.३१ विन्दुमा झरेको छ ।

आइतबार मौद्रिक नीति मार्फत शेयर धितो कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने समाचार आएसँगै उच्च गतिमा बढेको बजार सोमबारदेखि घट्न थालेको हो । सो दिन बजार सकिएपछि भएको पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शेयर धितो कर्जा प्रवाह गर्दा ५० लाख रुपैयाँसम्मको कर्जामा मात्र जोखिम मभार शतप्रतिशत रहने व्यवस्था परिमार्जन गरिएको जानकारी दिएपछि सोमबारदेखि बजार घट्न थालेको हो ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो साढे ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज २६७ स्टकको ५३ हजार ५७० पटकको कारोबारमा २ अर्ब ९१ करोड ७ लाख रुपैयाँ बराबरको ७७ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

पछिल्ला कारोबार दिनहरूमा सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको किसान लघुवित्तको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा नै कारोबार भएको छ । सिटी होटलको शेयरमूल्य ७.७४ प्रतिशत बढेको छ । नबिल बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ६.८७ प्रतिशत घटेको छ भने बिपिडब्लु लघुवित्तको शेयरमूल्य र सानिमा बैंकको ऋणपत्रको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट्सको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये आज होटल तथा पर्यटन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । आज होटल तथा पर्यटन उपसमूहको परिसूचक १.२२ प्रतिशत बढेको छ । बैंकिङ्ग तथा विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update