रे समाचार/काठमाडौं । शेयर बजार निरन्तर तेस्रो कारोबार दिन पनि घटेरै बन्द भएको छ । मौद्रिक नीतिमार्फत गरिएको शेयर कर्जाको जोखिम भार ५० लाखसम्मको लागि मात्र शतप्रतिशत भएको व्यवस्था गरेको समाचारपछि घट्न थालेको बजारले आज पनि सो क्रमलाई निरन्तरता दिएको हो ।
आज शेयर बजार मापक नेप्से परिसूचक ८.११ अंक घटेर २१५६.२० विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो करिब ३ अर्बको शेयर कारोबार भएकोमा आज २६० स्टकको ४२ हजार ७१४ पटकको कारोबारमा २ अर्ब ४३ करोड २५ लाख रुपैयाँ बराबरको ७३ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
पछिल्ला तीन कारोबार दिनमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको किसान लघुवित्तको शेयरमूल्य आज सर्वाधिक ६.९६ प्रतिशत बढेको छ । त्यसैगरी, ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ । किसान लघुवित्तसँगै मर्ज हुन लागेको जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य भने सर्वाधिक ६.४९ प्रतिशत घटेको छ । युनिलिभर नेपालको शेयरमूल्य पनि ६.३३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज ग्लोबल आइएमई बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको १५ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको करिब साढे ९ करोडको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । आज वित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक बढेको हो । होटल तथा पर्यटन उपसमूहको परिसूचक आज सर्वाधिक १.४२ प्रतिशत घटेको छ ।