RayNewsDaily
शेयर बजार सामान्य वृद्धि

रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयर बजार सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला ५ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको शेयर बजार मापक नेप्से आज भने बढेर बन्द भएको हो । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्टदेखि नेप्से निरन्तर ओरालो लागिरहेको थियो ।

पछिल्ला ५ कारोबार दिनमा नेप्से परिसूचक १२६.८१ अंक घटिसकेको छ । आज नेप्से परिसूचक ५.८४ अंक बढेर २१०६.१८ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो साढे २ अर्ब रुपैयाँको शेयर कारोबार भएमा आज २६२ स्टकको ४० हजार ३०३ पटकको कारोबारमा १ अर्ब ८५ करोड ८० लाख रुपैयाँ बराबरको ५५ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज सनराइज ब्लुचिप फण्डको इकाई मूल्य सर्वाधिक ७.१० प्रतिशत बढेको छ । त्यसैगरी, बलेफी हाइड्रोपावरको शेयरमूल्य ५.७९ प्रतिशत बढेको छ । अन्य स्टकको शेयरमूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ । विन नेपाल लघुवित्तको शेयरमूल्य आज सर्वाधिक ४.३१ प्रतिशत घटेको छ । ग्लोबल आइएमई बैंकको ऋणपत्रको मूल्य यस दिन ४.३१ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सोल्टी होटलको करिब साढे ५ करोडको शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.९७ प्रतिशत बढेको छ । त्यसैगरी, वित्त उपसमूहको परिसूचक १.२६ प्रतिशत बढेको छ । जलविद्युत्, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक आज घटेको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update